आईतवार, असोज ३, २०७८
/
कोरोनामा सकारात्मक पाटो:संक्रमितको घरमै गएर सेवा दिन थाले स्वास्थ्यकर्मीहरु
बैशाख २८, २०७८
  दोबाटो न्यूज डेस्क

इलाम। इलामको मेची अञ्चल आयुर्वेद औषधालयले कोरोना संक्रमण भएर आइसोलेसनमा बसेकालाई उनीहरु बसेकै स्थानमा पुगेर औषधि र परामर्श सेवा प्रदान गर्न सुरु गरेको छ । 



"कोभिड महामारी नियन्त्रणका लागि घरघरमा मेची आयुर्वेद" नामको कार्यक्रममार्फत संक्रमितको घरघरमा पुगेर सेवा दिन सुरु गरेको कार्यक्रम व्यवस्थापक तथा सूचना अधिकारी तिर्थराज आचार्यले जानकारी दिए । 


अभियानमा आयुर्वेद डाक्टरसहितको टोली सहभागी छ । उनीहरुले संक्रमणका समयमा गरिने योगाहरुको बारेमा प्रशिक्षण समेत दिने गरेका छन् । साथमा उनीहरुले रोग प्रतिरोधात्मक क्षमता भएका औषधि समेत वितरण गर्ने गरेको आचार्यले बताए । 


अभियानमा नेपाल सरकारद्वारा जारी आयुर्वेद प्रोटोकल अनुसारको उपचार र परामर्श प्रदान गर्ने अस्पतालका आयुर्वेद चिकित्सक डा. विजय श्रेष्ठले जानकारी दिए । इलाममा सोमबारसम्म १९२ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।


अहिलेसम्म इलाममा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । औषधालयले सबै स्थानीय तहका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिसकको आचार्यले जानकारी दिए ।अन्नपूर्ण दैनिकले लेखेको छ।