बुधबार, श्रावन १३, २०७८
/
प्रतिनिधिसभा बिघटनको कदमविरुद्ध नेपाली कांग्रेसले राजनीतिक र कानुनी लडाइँ लड्ने
जेठ ८, २०७८
  दोबाटो न्यूज डेस्क
काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको छ । 



सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध षडयन्त्र गरेको निष्कर्ष निकालेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताए ।
 

'अब लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेस राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय भएको छ । त्यसका लागि साथमा रहनुभएका अन्य राजनीतिक दलहरूसँग पनि सहकार्य गर्ने निर्णय भएको छ,' महतले भने । उनले प्रतिनिधिसभा विघटनको विरोध गर्नका लागि नागरिक समाजलाई पनि आह्वान गर्ने निर्णय भएको जानकारी दिए ।


प्रतिनिधिसभा विघटन लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको निष्कर्ष निकालिएको महतले बताए ।


'राष्ट्रपति र प्रधानमन्त्रीले जुन षडयन्त्रपूर्ण तरिकाबाट हिजो निर्णय गर्नुभयो यो घोर अलोकतान्त्रिक संविधानको मूल मर्मविरुद्धमा रहेको हाम्रो निष्कर्ष रह्यो,' महतले भने, 'बहुमतसहित विपक्षी दलको नेताले संविधानको धारा ७६ को उपधारा ५ अनुसार दाबी गरेको कुरालाई लत्याइएको भन्ने ठहर भयो ।'

बहुमतसहित आएकोलाई प्रधानमन्त्री नियुक्त नगरी हिजो दिउँसो ९३ भन्दा बढी सांसद छैनन् भन्ने प्रधानमन्त्रीलाई नै मुलुकको जिम्मेवारी दिने गरी राष्ट्रपतिले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत काम गरेको महतले बताए । कान्तिपुर दैनिकले लेखेको छ।