आईतवार, असोज ३, २०७८
/
कोरोना संकट न्यूनीकरणमा नागरिकको भूमिका
चैत २७, २०७६
  -गोविन्द भट्टराई

नेपालमा कोरोनाको संक्रमण बढ्दै गएको र यसले जीवनस्तर दिनदिनै कष्टकर हुँदै गएको छ। यसै परिवेशमा यसलाई परास्त गर्ने राज्यको नीतिलाई सार्थक बनाई देशलाई संकटबाट बचाउनका लागि नागरिकले खेल्नु पर्ने भूमिकाका  बारेमा यस आलेखमा केही चर्चा गर्ने जमर्को गरेको छु।

 

सामाजिक सञ्जालका भित्ताहरुमा अहिले विभिन्न किसिमका अन्यौलता सृजना गर्ने किसिमका हौवाहरु चलाईने गरिएको छ। नागरिकहरु विभिन्न पक्ष र विपक्षमा विभक्त भइ राज्यका कोरोना रोकथाम तथा नियन्त्रन सम्बन्धी नीतिको एकथरिले गुणगान र अर्कोले चर्को आलोचना गरेका दृष्यहरु विपद्को समयमा देखिनु एक दुर्भाग्यपूर्ण कुरा हो । जोखिम न्यूनीकरणका लागि एकता अपरिहार्य छ । यसका लागि सकारात्मक सोच हुनु पर्दछ । कुनै पक्षले अन्धभक्त प्रवृत्ति देखाउने समय यो होइन, न त यो  नकारात्मक धारणा राखि चर्को आलोचना गरी हरकुरामा खैरो खन्ने गर्ने समय नै हो ।

 

यो त व्यक्तिगत, समूहगत र दलगत स्वार्थ र फाइदा भन्दा माथि उठेर सच्चा हृदयले मानवता प्रकट गर्ने समय हो ताकि लागेका र लाग्न सक्ने घाउहरुमा मलम पट्टी लगाउन सकियोस् ।

 

अहिले हामी लकडाउनमा छौं । घरमै रहेर आफू र आफ्नो समुदायमा कोरोनाको संक्रमण बढ्न नदिनु नागरिकको पहिलो कर्तव्य हो । तर यतिले मात्र पक्कै पनि जोखिमलाई परास्त पार्न नसकिएला । देशमा आइपरेको संकटको समाधानमा सरकारको प्रमुख जिम्मेवारी भए पनि उक्त जिम्मेवारी पूरा गराउने वातावरणको निर्माण नागरिकको साथ र सहयोग विना संभव छैन । एकातर्फ हरेक नागरिकबाट प्राप्त हुन सक्ने सम्भावित सहयोगका लागि अपिल गर्न राज्यसंयन्त्रले ढिलो गर्नु हुन्न भने अर्को तर्फ नागरिकले हर सम्भव आफूले सकेको योगदान गर्ने इच्छाशक्ति देखाउनु पर्दछ ।
 

यो कलडाउनको समय भनेको व्यक्तिगत, समूहगत र दलगत स्वार्थ र फाइदा भन्दा माथि उठेर सच्चा हृदयले मानवता प्रकट गर्ने समय हो ताकि लागेका र लाग्न सक्ने घाउहरुमा मलम पट्टी लगाउन सकियोस् ।

 

लकडाउन भएको आज १७ औं दिनमा आईपुग्दा कोरोनाको त्रास सँगै अन्य विभिन्न किसिमका समस्याहरु समुदायमा देखा पर्न थालेका छन् । दैनिक गुजारा चलाउनका लागि धेरै नागरिकहरुलाई असहज हुन थालेको धेरै दिन भइसकेको छ । दैनिक ज्यालादारी र मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्ग अहिले दुई हात मुख जोड्ने समस्याबाट ग्रस्त छ । समाजमा धेरै नागरिकहरु सम्भावित खतराको त्रासका कारण मनोवैज्ञानिक रुपमा ग्रसित छन् । 

काठमाडौं उपत्यकामा दैनिक ज्यालादारीबाट आउने आम्दानीको भरमा आश्रित मजदुरबर्ग काम र माम दुबै नभएपछि कुम्लोकुटुरो बोकेर हिँडेरै हप्तौंको यात्रा पार गर्दै घर जान थालेका समाचार आईरहेछन्।

सामान्य किसिमको भाईरल तथा फ्लूबाट ग्रसित हुँदा समेत नागरिक हतासिएका छन् । धेरै ठाउँमा स्वस्थ्यकर्मीहरुले विरामीहरुलाई व्लड प्रेसर नाप्ने या ज्वरो नाप्ने जस्तो सामान्य चेकजाँचमा पनि असहयोग गरेका घटनाहरु बढ्दै गएका छन् । दैनिक जीवन धान्नका लागि आवश्यक खाद्यान्नको अभाव हुँदै जाने अवस्था सृजना हुँदै छ । कतिपय पहुँचवाला मानिसहरुले संकट हुन्छ कि भनेर आफूलाई चाहिने भन्दा वढी भण्डारण गरेर राख्ने प्रवृत्ति हावी छँदै छ । यदि यहि अवस्था गुज्रिरहने हो र लकडाउन लम्विरहने हो भने समाजमा कोरोनाको भन्दा पनि भोकमारीको महासंकट हुने प्रायः निश्चित छ ।

 

सामान्यतयाः समस्याको समाधानका लागि सबैको आँखा सरकार तर्फ नै सोझिने गर्दछ । तर महामारीको समयमा सरकारीस्तरबाट मात्र सबै किसिममा समस्याको समाधान गर्न सम्भव नहुन पनि सक्दछ । यस्तो अवस्थामा नागरिकहरुले नागरिकस्तरबाटै संकटको न्यूनीकरण गरी जनजीवनलाई सहज बनाउन आफूले सकेको सहयोग गर्नु पर्दछ । राज्यले गर्ने काम गर्ला । राज्यका विभिन्न निकायहरु केन्द्रबाट स्थानीय तह सम्म अहोरात्र खट्लान् । समस्यामा परेकाहरुको उद्दार होला । क्रमश: हुँदै पनि छ। त्यो आफ्नो ठाउँमा छ । यसको अलावा हामीले नागरिकस्तरबाट यो विपदको घडीमा आफू सुरक्षित हुँदै के गर्न सक्छौं भनेर सोच्ने बेला आएको छ ।
 

हामी के गर्न सक्छौ त ?


हाम्रो हरसमाजमा विपद्का बेला सहयोग गर्ने हेतु स्थापना भएका विभिन्न राष्ट्रिय गैर्ह सरकारी संस्था तथा अन्तराष्ट्रिय गैर्हसरकारी संस्थाहरु कृयाशील छन् । यसको सञ्चालन नागरिक समाजकै पाटोबाट हुँदै आएको छ। सरकारी निकायहरुसँग समन्वय गरि यो विपद्को घडीमा यी संघ संस्थाहरुको माध्यमबाट तत्काल सहयोगको कार्यलाई अगाडी बढाउनुको विकल्प छैन । नेपाल रेडक्रस सोसाइटी, स्थानीय यूथ क्लव,आमा समूह, टोल विकास संस्था आदि जस्ता संस्थाहरुलाई हामीले तत्काल चलायमान बनाएर केहि हद सम्म भए पनि राज्यमा आएको संकटको सामना गर्न सारथी बन्न सक्छौं ।
 

यो विपद्को घडीमा नेपाल रेडक्रस सोसाइटी, स्थानीय यूथ क्लव,आमा समूह, टोल विकास संस्था आदि जस्ता संस्थाहरुलाई हामीले तत्काल चलायमान बनाएर केहि हद सम्म भए पनि राज्यमा आएको संकटको सामना गर्न सारथी बन्न सक्छौं ।


राज्यले विपद् व्यवस्थापनका लागि केन्द्रिय स्तरमा कोषको व्यवस्था गरेको छ । तर केन्द्रको मुख ताकेर बस्नु भन्दा पनि हरेक स्थानीय तहमा विपद् कोषको स्थापना गरी स्थानीय संघ संस्था पेसागत संघ संगठन तथा नागरिक अगुवा र सरकारी शिक्षक तथा कर्मचारीको सहयोग लिइ स्थानीय स्तरका समस्या समाधान गर्न हरेक स्थानीय सरकारले तदारुकता देखाउनु जरुरी छ । र, अहिले यसको सुरुवात हुन थालेको पनि छ जुन शुखद् हो।

 

वास्तबमा हाम्रा उपचार पद्दती र सुविधाहरु सिमित छन् । यो हामी सबैलाई थाहा छ । सरकारले यसको सवलीकरणका लागि तत्काल पहल गरी हर ठाउँमा सुविधा पुर्याउने कार्य गर्नु पर्दछ । सरकारको कार्यमा सघाउनु नागरिक कर्तव्य हो । यसमा सकारात्मक आलोचना हुनु भनेको अवस्थाको सुदृढिकरणमा टेवा पुग्नु नै हो । यस्तो किसिमको आलोचनालाई नकारात्मक रुपमा कोहि कसैले लिनु हुँदैन । तर यो कटु आलोचनाको भने समय होइन । काम गर्नेले पनि संवेदनशील भएर देश र जनताका लागि पारदर्शी ढंगबाट कार्य गरौं र असन्तुष्टि हुनेहरुले पनि

 

रचनात्मक आलोचना गरौं। हामी सबैले अभिव्यक्ति प्रकट गर्दा यसको संवेदनशीलतालाई शीरोधार्य गरौं ।

 

( लेखक भट्टराई, होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय, भानु-२, तनहुँका शिक्षक हुनुहुन्छ )