बिहिवार, माघ १९, २०७९
/
वार्षिक १ लाख ५० हजार किलो स्कुस फलाउने युवा किसान विनोद श्रेष्ठको कथा
भाद्र ६, २०७९
  दोबाटो न्यूज

इलाम। इलामकाे सूर्योदय नगरपालिका– ८ का ३० वर्षीय विनोद श्रेष्ठ हिजाेआज स्कुस टिप्दै गरेको भेटिन्छन् । यो स्कुस उत्पादन हुने सिजन भएका कारण उनी अरु समयभन्दा धेरै अहिले स्कुसबारीमै व्यस्त छन् ।  त्यही भएर बिहान चियाकाे चुस्कीसँगै विनोद स्कुस टिप्न बारीमा पसिहाल्छन् । 


श्रेष्ठले एक सिजनमा ४२ लाख रुपैयाँसम्म स्कुसकाे व्यापार गर्दै आएका छन् । उनले उत्पादन गरेको स्कुस पश्चिम भारतीय बजारमा पुग्छ । कुनैबेला विदेशिने रहर बोकेका उनी स्कुसखेतीमा लागेपछि वैदेशिक रोजगारीको मोह हराएको बताउँछन् । वार्षिक १ लाख ५० हजार किलो स्कुस उत्पादन गरी बजारमा पुर्‍याउने गरेको श्रेष्ठले जानकारी दिए । 


अहिले चलानी जातको स्कुसखेती गरिरहेको र सबै खर्च कटाएर वार्षिक २५ लाख रुपैयाँ बचत हुने उनले बताए । ‘स्कुसखेतीका लागि भनेर ४० रोपनी जमिन वार्षिक २ लाख भाडा तिर्ने सर्तमा लिएको छु । मौसमले साथ दिए राम्रो उत्पादन हुन्छ । वार्षिक बाँसमा ५ लाख र कामदारलाई ९ लाख गरेर १४ लाख रुपैयाँ खर्च हुने गरेको छ’, उनले भने, ‘परिवारको मुख्य आयस्रोत स्कुसखेती नै हो । कृषिमै निर्भर भएका कारण तरकारी खेतीमा सबै समय खर्चिने गरेको छु । अहिलेसम्म मौसमले साथ दिएर होला नोक्सानी व्यहोर्नु परेको छैन ।’ 


स्कुस भारतको सीमासम्म आफैँ पुर्‍याउने गरेको र त्यहाँबाट भारतीय व्यापारीले खरिद गर्ने गरेकाे उनले बताए । इलामका धेरै किसानले पशुपतिनगर र अन्य भारतसँग जोडिएका नाकामा आफैँ तरकारी पुर्‍याएर बिक्री गर्दै आएको उनले जानकारी दिए । 


श्रेष्ठका अनुसार इलामको पशुपतिनगर हुँदै दैनिक ४५ लाख बराबरको स्कुस भारतमा निर्यात भइरहेको छ । यो बजार इलामका किसानको तरकारी बेच्ने केन्द्र हो । 


नेपालबाट भारतमा तरकारी निर्यात गर्दा किसानले भने अनेक समस्या भोग्नुपर्छ । सरकारले केही सहयोग गरेमा मात्रै पनि तरकारीको राम्रो मूल्य पाउन सकिने उनी बताउँछन् । अहिले त व्यापारीले जति भन्यो त्यति नै मूल्यमा तरकारी बिक्री गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ  ।  


विदेशी बजारलाई विस्तार गर्नका साथै स्वदेशमै स्कुसबाट बनाउन सकिने सामग्री निर्माण गर्न सके यसको उत्पादन बढ्ने श्रेष्ठको बुझाइ छ । अहिले २० रुपैयाँ केजी स्कुस बिक्री गर्दै आएको र यही स्कुस माघ महिनासम्म राख्न सके ५० रुपैयाँ केजीमा व्यापार हुने श्रेष्ठले बताए । 


तरकारी भण्डारण केन्द्र भए स्कुस स्टोर गरेर चैत–वैशाखमा ८० रुपैयाँ केजीसम्म पनि बिक्री गर्ने सकिने उनी बताउँछन् । चलानी जातको स्कुस भदौ महिनामा रोपिन्छ । पातलो गरेर रोपिने यो स्कुसको अर्को वर्ष बीच–बीचमा अर्कै स्कुसको बीउ थप्दै जानुपर्ने र मलिलोसँगै कालो माटोमा स्कुस राम्रो उत्पादन हुने गरको उनको भनाइ छ । 


उनका अनुसार स्कुसको मुन्टा टिप्न मिल्दैन भने भुइँतिर झरेको मुन्टालाई टिप्नुपर्छ । बाक्लो गरी आएको पातले स्कुसको फलमा असर गर्ने भएका कारण समय–समयमा मुन्टा र पात टिपेर फाल्नुपर्छ । स्कुसको टिपेर फालिएको पातलाई गाई, भैँसी, बाख्रा तथा बंगुरलाई घाँस तथा दानाको रूपमा प्रयोग गर्न सकिन्छ । स्कुसखेतीसँगै बाख्रा, गाई–भैँसी र बंगुरसमेत पालन गर्न सकिने श्रेष्ठ बताउँछन् ।  उनले स्कुससँगै बाख्रा र गाई पालेर दूधसमेत दैनिक बिक्री गर्दै आएका छन् ।


नेपालमा मौसमी तरकारीमा धेरै किसान निर्भर छन् । सरकारले तरकारी उत्पादन गर्दै आएका किसानलाई तालिम, मल, बीउ र आधुनिक प्रविधिबाट खेती गर्ने औजार उपलब्ध गराउन सके किसानकाे जीवनस्तर निकै माथि पुग्ने उनी बताउँछन् । 

विदेशभन्दा स्वदेशमै कृषिमा पसिना बगाउन सके पैसा र रोजगारी दुवैमा सन्तुष्टि मिल्ने उनको बुझाइ छ । इलामको पशुपतिनगर, भञ्ज्याङ, झापाको काँकडभिट्टा र बाहुनडाँगी हुँदै नेपाली किसानले दार्जिलिङ, सिलगुडीसँगै पश्चिम बंगालका शहरमा तरकारीको बिक्री गर्दै आएका छन् ।


सूर्योदय नगरपालिकाको तीनवटा वडामा स्कुसखेती हुने गरेको छ । यहाँका धेरै किसान यही खेतीमा निर्भर छन् । स्कुसखेतीमा संलग्न किसानको संख्या अनुमानित १ हजार ५ सय जना रहेको नगरपालिकाले जनाएकाे छ । सूर्योदय नगरपालिका क्षेत्रमा मात्रै दैनिक साढे २ लाख किलो स्कुस उत्पादन हुने गरेको छ ।