शनिबार, आषाढ ५, २०७८
/
मर्मतमा उपभोक्ता एकभएर जुर्मुराएपछि इर्खुवाखोला लघु जलबिधुत आयोजना पुन: सुचारु
बैशाख २४, २०७८
  दोबाटो संवाददाता
चौकीडाँडा,भोजपुर। साल्पासिलिछो गाउँपालिकाको केन्द्रका सम्पूर्ण कार्यालयमा बिद्धुत् प्रवाह गर्ने इर्खुवाखोला लघु लजबिद्धुत आयोजना ६ दिनको लगातार मर्मत कार्यपछि पुन: संचालनमा आएको छ।
 


बर्षा याम शुरु भएपछि मुहानमा हुनसक्ने समस्यालाई निराकरण गर्ने शिलशिलामा थप दुईवटा पोल भाँचिएकाले मर्मतको काम ६ दिन लम्बिन पुगेको योजनाका संस्थापक संचालक वीरेन्द्र राईले बताए। कार्यतालिका बनाएर काम गरिएकोले धेरै मर्मतको काम पनि ६ दिनमै सम्पन्न गरिएको उनले बताए। "२०० घरधुरी मिलेर मुहान मर्मत लगायत पोल फेर्ने काम पनि गरिएको छ",उनले भने,"फेरिएका पोल सिमेन्टेड गरेर गाडिएको छ जसले गर्दा पोल लड्ने समस्या अब नआउला भन्ने आशा छ।"

"८ वटा पोल सहित सिमेन्ट रड लगायत गरेर २ लाख जति मर्मत तथा सामाग्री खरिदमा खर्च गर्नु पर्यो",उनले दोबाटो न्यूजलाई बताए। "७ बर्ष देखि निरन्तर र नियमित सेवा प्रवाह गर्न पाउनुमा आयोजना गौरवान्बीत छ ।आयोजनाको सफलताको मुल कडि - सबैको सहभागिता र अपनत्व नै हो । पुन: धन्यबाद सबैलाई",आयोजनाले एक सूचनामा उल्लेख गरेको छ।

२८ किलोवाट क्षमताको यो जलबिद्युत् योजनाको ७ बर्ष अघि तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मंत्री कृपाशुर शेर्पाले औपचारिक उद्घाटन गरेका थिए। अनुमानीत २०० घरमा बिद्युत् सेवा उपलब्ध गराउने यो जलबिद्युत् योजना चौकिडाँडामा संचालनमा रहेका लघु जलबिद्युत् मध्ये सबैभन्दा ठुलो लघु जलबिद्युत् योजना हो। गाउँपालिकाका कार्यालय लगायत स्थानिय बजारका सबै ब्यापार ब्यवसाय, लघु उद्योग, पसल, बिध्यालय यहि जलबिद्धुत् योजनामा भर पर्नुपर्छ।

जिल्लाको साल्पासिलिछो गाउँपालिकाका कुनै पनि वार्डमा अहिलेसम्म केन्द्रीय प्रसारण लाईनको बिद्धुत प्रसारण शुरु भैसकेको छैन। पूर्वी क्षेत्र कुलुङबाट पोल गाड्ने र लाईन तान्ने काम शुरु गरिएको छ।