सोमबार, जेष्ठ ३, २०७८
/
भोजपुरको खाटाम्मामा पहिलोपटक भलिबल र युगल नृत्य प्रतियोगिता,दर्शकले रात र चिसो केहि भनेनन्
पुष ४, २०७७
  -सुदीप अधिकारी

भोजपुर। जिल्लाको लिबुटार खेलकुद बिकास समिती साल्पासिलिछो खाटाम्माद्वारा आयोजित भलिबल प्रतियोगिता साथै युगल नृत्य प्रतियोगिता भब्य तथा सभ्य तरिकाले सम्पन्न भएको छ।



स्थानिय पाङलुङ अवस्थित नवनिर्मीत खेलमैदानमा ५ दिनसम्म संचालन भएको पुरुष तथा महिला भलिबल साथै युगल नृत्य प्रतियोगितामा बिजयी टिमलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्रले पुरस्कृत गरियो।


पुरुष भलिबलतर्फ २७ टिम सहभागी भएकामा कोटिहोम भलिबल टिम षडानन्द-१ प्रथम भई रु २५,५०० को नगद पुरस्कार प्राप्त गर्न सफल भयो।

प्रतियोगितामा दोश्रो स्थान कुलुङले ओगट्यो भने तेश्रो चौकीडाँडा भयो। दोभानेले चौथो स्थान प्राप्त गरेर सान्त्वना पुरस्कार हात पार्यो। कार्यक्रम संयोजक प्रबिन कुलुङ राईका अनुसार दोश्रो हुने भलिबल टिमलाई मेडल र प्रमाणपत्र सहित १९,५०० रुपैंयाँको नगद पुरस्कार, तेश्रो हुने टिमलाई मेडल, प्रमाणपत्र र १५,५०० रुपैंयाँ तथा सान्त्वना पुरस्कार थाप्नेलाई ६००० रुपैंयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो।


अत्यन्त्य प्रतिस्पर्धात्मक खेलको महिला तर्फको बिजयी पदक तालिकामा प्रथम स्थान खार्ताम्छाले ओगट्यो। प्रथम बन्न पुगेको खार्ताम्छा महिला भलिबल टिमले २३,००० रुपैंयाँको नगद, मेडल तथा प्रमाणपत्र हात पार्यो।

१३ टिम सहभागी महिलाहरुको खेलमा दोश्रो चौकीडाँडा, तेश्रो दोभाने र सान्त्वना पनि दोभानेकै अर्को टिम बन्न सफल भयो। दोश्रो हुने महिला भलिबल टिमलाई १७,००० नगद पुरस्कार मेडल र प्रमाणपत्र, तेश्रो हुने टिमलाई १२,००० नगद पुरस्कार मेडल र प्रमाणपत्र तथा सान्त्वना हुनेलाई ७,००० रुपैंयाँ नगद पुरस्कार र प्रमाणपत्रको ब्यवस्था गरिएको थियो।


युगल नृत्य प्रतियोगिता तर्फ अत्यन्तै आकर्षक नृत्य चौकीडाँडाले प्रस्तुत गर्यो। प्रथम स्थान जितेको चौकीडाँडाको यो नृत्य समूहले १३००० रुपैयाँको नगद पुरस्कार हात पार्यो।

नृत्यमा दोश्रो स्थान कुलुङ-२ ले हाँसिल गर्यो भने तेश्रो कुलुङकै अर्को नृत्य समूह बन्न सफल भयो। कार्यक्रम संयोजक राईका अनुसार नृत्यतर्फ दोश्रो हुनेलाई ६००० नगद तथा तेश्रो हुनेलाई ४००० नगद पुरस्कारले शुषोभित गरियो।


खेलमैदान निर्माण भएपछि पहिलोपटक आयोजित प्रतियोगीतामा असंख्य दर्शकको उपस्थिती थियो। प्रमुख अतिथीको रुपमा जिल्लाका प्रदेशसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य राजेन्द्रकुमार राई, अतिथीको रुपमा नेकपा केन्द्रीय सदस्य तथा भोजपुर पार्टी सह-ईन्चार्ज हरि राई, साल्पासिलिछो गाउँपालिकाकी उपाध्यक्ष धनमाया राई, नेकपा साल्पासिलिछो गाउँपालिका ईन्चार्ज दलबहादुर गिरी र पार्टी अध्यक्ष जीवन राई, राष्ट्रिय युवा संघ भोजपुरका अध्यक्ष सन्दीप राई, पुर्बी पहाडी डान्सिङ स्टार कसियस कुलुङ लगायतको कार्यक्रममा उपस्थिती थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै पूर्ब बिध्यार्थी नेता तथा प्रदेश-सभा सदस्य राजेन्द्रकुमार राईले खेल ब्यवस्थापन, खेलाडीको उत्किष्ठ खेल क्षमता तथा अनुशासनको खुलेर प्रशंसा गर्दै सहभागी सम्पूर्णलाई बधाई दिए। खेलस्थल निर्माण गर्न आफूले प्रदेश सरकारबाट उपलब्ध गराएको ८ लाख रुपैंयाँले एकदमै राम्रो र फराकिलो मैदान निर्माण गरेको देखेर आफू धेरै खु:सी भएको उनले बताए। "यति नै रकममा बनेका अरु मैदानभन्दा खाटाम्माको यो मैदान सबैभन्दा ठूलो बनेछ,"उनको भनाई थियो। कार्यक्रम गर्दै जाँदा राती र निकै चिसो भैसकेपनि धेरै मानिस धैर्य गरेर टनाटन बसेको देखेर आफू सबैप्रति आभारी रहेको भन्दै उनले सम्पूर्णमा धन्यवाद ब्यक्त गरे।


कार्यक्रम संयोजक प्रबिन कुलुङ राईका अनुसार अब प्रतियोगीता प्रत्येक बर्ष आयोजना गरिनेछ। कार्यक्रम आयोजना गर्न आर्थिक, भौतिक, नैतिक लगायत सबै किसिमको सहयोग गर्ने सम्पूर्ण सहयोगी महानुभावलाई उनले धन्यवाद भन्न चाहेको बताए।

 

उनका अनुसार खेलमैदान प्रदेश नं १ सरकारको ८ लाख, गाउँपालिकाको ४ लाख रुपैंयाँको अनुदान सहयोगले बनेको हो। खेलमैदान निर्माण गर्न स्थानिय भुवानसिं राई र देवेन्द्र राईले १२ रोपनी जग्गा नि:शुल्क उपलब्ध गराएका हुन्।