मंगलवार, श्रावन १२, २०७८
/
निको भए भारतमा कोरोना संक्रमित एक ६६ बर्षीय नेपाली पुरुष
वैशाख १, २०७७
  दोबाटो न्यूज
नयाँदिल्ली। भारतको अम्बालामा रहेका एक जना कोरोना संक्रमित नेपाली निको भएका छन् । 

६६ वर्षीय नेपाली पुरुषलाई अम्बालाकै सिटी अस्पतालमा १० दिनको उपचारपछि शनिबार साँझ अस्पतालबाट डिस्चार्ज गरिएको हो । 



पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अम्बलाका प्रमुख स्वास्थ्य अधिकृत डा. कुलदिप सिंहले जानकारी दिएका छन् । "लगातार दुई वटा परीक्षण गऱ्यौं, ती दुवै रिपोर्ट नेगेटिभ आयो त्यसपछि डिस्चार्ज गरिएको हो", डा। सिंहले भने । अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई अम्बालाकै एक स्कुलमा बनाइएको क्‍वारेन्टाइन सेन्टरमा राखिएको डा. सिंहले जानकारी दिएका छन् ।

नयाँदिल्लीको इस्लामिक भेलामा सहभागी भएर अम्बाला पुगेका पर्सा निवासी ती नेपालीलाई २ अप्रिलमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसपछि उनलाई तत्कालै अम्बालाकै सिटी अस्पतालमा राखिएको थियो । त्यतिबेला नै चिकित्सकहरुले संक्रमण देखिए पनि अन्य
कुनै रोगहरु नभएको हुँदा उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका थिए ।

संक्रमित बिरामी इस्लामिक भेलाकै सहभागी अन्य सात जना नेपालीसहित करिब तीन साताअघि अम्बला पुगेका थिए । उनीहरु अम्बलाको महेशनगरस्थित मस्जिदमा बस्दै आएका थिए ।

दुईसाता अघि भारतमा पहिचान भएका कोरोनाका बिरामीहरुमध्ये अधिकांश ईस्लामिक भेलाका सहभागी भएको खुलेपछि भारत सरकारले भेलाका सबै सहभागीहरुको खोजीलाई तीव्रता दिएको थियो । त्यही क्रममा प्रहरीले महेशनगरको मस्जिदमा छापा मारेपछि त्यहाँ नेपाली आठ, श्रीलंकाका एक र बाँकी दुई जना भारतकै राजस्थान र आसामका नागरिक बस्दै आएको खुलेको थियो । त्यसपछि उनीहरु सबैलाई प्रहरीले नियन्त्रणमा लिएर क्‍वारेन्टाइनमा पठाएको थियो । क्‍वारेन्टाइनमा पठाइएका नेपालीहरुमध्ये एक जनामा मात्र संक्रमण देखिएको थियो । अन्य सात सात जना नेपाली पनि पर्साकै निवासी हुन् ।

भारतमा हालसम्म १२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये दुईजना दिल्लीको इस्लामिक भेलाका सहभागी हुन् भने १० जना भारतमा बस्दै आएका नेपाली कामदारहरु हुन् । कान्तिपुर दैनिकले लेखेको छ।