बिहिवार, माघ १९, २०७९
/
भोजपुर कुलुङको माघे मेला:डोका नाङ्ला किन्नेदेखी साथीसंगी भेट्ने अरुण वारी पारिको संगमस्थल
माघ २, २०७९
  -सुदीप बहादुर अधिकारी
कुलुङ,भोजपुर। पहिलेदेखि नै डोका नाङ्ला देखि सख्खर अनि लाम्पाते सुर्ती किन्न जाने र सेल रोटी खाएर मादलको तालमा फनफनी नाचेर रमाईलो गरिने उत्तरी भोजपुर कुलुङको माघे मेलामा केही बर्ष एता थप रौनक थपीएको छ घमसान खेलिने भलिबल र लाईभ म्युजिकले।



पहिलेझै यो बर्ष पनि चिरपरिचीत षडानन्द नगरपालिका नेपालेडाँडाको भलिबल टिमले ७५,१०० रुपैयाँको नगद पुरस्कार र १०५ तोला चाँदीको रनिङ्ग शिल्ड जितेरै छोड्यो। यो बिजयी टिमले छिमेकी संखुवासभाको सभापोखरी गाउँपालिका भलिबल टिमलाई ३-० को सोझो सेटमा हराएको हो। भोजपुरकै षडानन्द नगरपालिका २ कुदाककाउलेको टिम र साल्पासिलिछो गाउँपालिका १ कुलुङको टिम सेमिफाईनलिस्ट टिमको रुपमा छनोट भई पुरस्कार थापे।

"उत्तरी भोजपुरमा कुलुङको माघे मेला भन्नेबित्तिकै मानिसको शरिरमा अलग्गै रौनकताले छाउँछ, मेला कहिले आउँछ जस्तो हुन्छ," स्थानीय साहित्यकार तथा खेलप्रेमी पर्शु कुलुङ (कुलुङ्गे राई कान्छो) बताउँछन्।

"यो मेला किन बिशेष छ भने आफ्ना पुराना हितैसी मित्रहरु मेलामा पक्कै आउँछन् र भेट्ने मौका पनि हो भनेर तराई तथा काठमाडौंदेखी मानिसहरु मेला भर्न आउँछन्, उनले दोबाटो न्यूजलाई सुनाए। "गाउँका पुराना अगुवा नर बहादुर बुढाथोकिले ३२/३३ साल तिर माघे मेला सुरुवात गरेका थिए रे, त्यसपछि परम्परागत रुपमा यो मेला लाग्दै आईरहेको छ," उनले भने।

जब रात छिप्पिदैँ जान्छ तब सांगीतिक प्रस्तुती शुरु हुन्छ, छिटै घर फर्कने सोचेका युगल जोडीहरु संगीतको घुन सँगै नाच्न थाल्छन्, कति त नाच्दा नाच्दै दृश्यबाट गायब हुन्छन्।

यसपालि भने साङ्गितिक साँझमा निम्त्याईएका राष्ट्रिय कलाकार गायक निशान भट्टराई विशेष कारणले उपस्थित हुन सकेनन्। स्थानिय कलाकार सुरेन्द्र पुलामी मगर, रबिन तेम्मोर राई, विशेष घले लगायत स्थानिय गायकहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए।

खेल बिधा र स्वर प्रतियोगिता

महिला तर्फ भएको फाईनल भलिबल खेलमा संखुवासभाको सिलिचोङ-२ बालाले संखुवासभाकै सिलिचोङ-१ सिसुवालाई ३-२ सेट अन्तरको कठिन जीत निकाल्दै उपाधी चुमेको छ। विजयी टिमले नगद रु.४५,१००- को 'सरस्वती गिरी राई स्मृति रनिङ् शिल्ड' (५० तोला चाँदी) मेडल तथा प्रमाणपत्र हात पारेको छ भने उपविजेता टिमले नगद रु. ३०,१००- मेडल तथा प्रमाणपत्र हात पारेको छ। त्यस्तै सेमिफाईलिस्ट सिलिचोङ-४ माङ्तेवा र षडानन्द-३ खार्ताम्छाले नगद रु.२०,१००- मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।

माघेमेलालाई लक्षित गरेर आयोजक स्थानिय कुलुङ माघेमेला युवा क्लबले खुल्ला ट्रयाक गायन प्रतियोगिता पनि आयोजना गरेको थियो। जसमा षडानन्द नगरपालिका-५ का अनम राई प्रथम, छिमेकी संखुवासभाको सिलिचोङ् गाउँपालिका-१ का बोरन राई द्वितीय, स्थानीय साल्पासिलिछो गाउँपालिका-१ का दिपिन गजमेर तृतीय तथा षडानन्द नगरपालिका-५ का बिश्वास मगरले सान्त्वना पुरस्कार जितेका छन्। सो प्रतियोतामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः नगद रु. १०,०००-,७०००-,५०००- र ३०००- तथा प्रमाण-पत्र प्राप्त गरे।

"कुलुङ् माघेमेला युवा क्लब" साल्पासिलिछो गाउँपालिका वार्ड नं १ र २ को संयुक्त आयोजनामा आयोजित मेला तथा खेल गतिबिधि क्लबका अध्यक्ष श्री पुष्पराज घलेको अध्यक्षता र साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष श्री दौलथ कुलुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।