सोमबार, जेष्ठ ३, २०७८
/
नेपाल आइपुग्यो कोरोनाविरुद्धको १० लाख डोज खोप
माघ ८, २०७७
  दोबाटो संवाददाता
काठमाडौं। भारतले अनुदानस्वरुप दिएको कोरोनाविरुद्धको १० लाख डोज खोप आज भर्खरै नेपालमा ल्याण्ड भएको छ ।

हिजो बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले पत्रकार सम्मेलन गरी जानकारी गराएबमोजिम एअर इण्डियाको बिमानबाट खोप नेपाल ल्याईएको हो।


 

एयर इन्डियाबाट नेपाल आइपुगेको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै टेकुस्थित केन्द्रीय खोप भण्डारणमा लगिने मन्त्रालय स्रोतले बतायो ।


भारतीय राजदूत विनयमोहन क्वात्राले विमानस्थलबाटै स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् । विमानस्थलबाट टेकुको केन्द्रीय खोप भण्डारणसम्म लैजान तापक्रम कायम गर्न मिल्ने उपकरणजडित दुईवटा ट्रक तयारी अवस्थामा राखिएको विमानस्थल स्रोतले जनाएको छ ।


सरकारले कूल जनसंख्याको ७२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य लिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ ।

खोप पाउने पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीहरु

पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।

नेपालको औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’लाई गत शुक्रबार नै आपत्कालीन प्रयोगका लागि ससर्त अनुमति प्रदान गरिसकेको छ । भारतबाट प्राप्त यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।

मन्त्री त्रिपाठीका अनुसार बाँकी रहेको खोप जोखिम रहेका अन्य जनसंख्यालाई दिइनेछ। नपुग पुरै खोपको खरिद प्रक्रिया पनि अब छिट्टै अगाडि बढाउने समेत उनले बताए।