मंगलवार, मंसिर १६, २०७७
/
एकतापछि राप्रपामा अव तीनजना अध्यक्ष,तीनैजना अध्यक्षद्वारा पदभार ग्रहण:'बलियो प्रतिपक्षी बन्ने'
फागुन ३०, २०७६
  दोबाटो न्यूज
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रयले बिहीबार पदभार ग्रहण गरेका छन्। राप्रपाको पार्टी कार्यालय चाबहिलमा एकतापछिका नयाँ अध्यक्षत्रय कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले पदभार गरेका हुन्। 



पदभार ग्रहणपछि अध्यक्ष कमल थापाले राप्रपालाई कांग्रेस र कम्युनिष्ट सरह देशको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यका पार्टी एक भएको बताए। स्थानीय तहसम्मका कमिटीमा योग्यता र क्षमताका आधारमा जिम्मेवारी बाँडफाँड गरी समायोजनमा जाने मानसिकता सबैले बनाउनुपर्ने उनले बताए।

पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशप्रतिको राष्ट्रहितको जिम्मेवारी महसुस गर्दै पार्टी एकता गरिएको बताए। राम्रो मान्छेलाई प्रोत्साहन गर्दै पार्टीलाई बलियो बनाउने गरी कमिटि गठन गर्नुपर्नेमा उनले जोड दिए। नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसभित्र हिन्दुराष्ट्रका पक्षमा रहेका नेतालाई पनि राप्रपा ल्याउने प्रयास गरिने उनले बताए।

पार्टीका अर्का अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान सरकारले जनतालाई धोखा दिएपनि प्रतिपक्षी दलले त्यसको खवरदारी गर्न नसकेको बताए। उनले जनतामाथि भएको धोखा र कुकर्मको विरुद्धमा जनताको पक्षमा बोल्ने पार्टीको आवश्यकता परेकाले पार्टी एक भएको बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच बुधबार पार्टी एकता घोषणा भएको थियो।