बिहिवार, माघ १९, २०७९
/
जाल्पा माध्यमिक बिध्यालय भोजपुरको ६७ औं बार्षिकोत्सब,केही नयाँपनकासाथ यसरी मनाईयो
पौष ३०, २०७९
  दोबाटो न्यूज संवाददाता

चौकीडाँडा,भोजपुर। जाल्पा माध्यमिक बिध्यालय चौकीडाँडा भोजपुरले ६७ औं बार्षिकोत्सब तथा अभिभावक दिवस यसपटक केही नयाँपनकासाथ मनाएको छ।



वर्ष उत्कृष्ट जिम्मेवार अभिभावक, बर्ष उत्कृष्ट जिम्मेवार आमाको छनोट गरि उनीहरुलाई पुरस्कृत गरिएको प्रधानाध्यापक वीरेन्द्र राईले बताउनुभयो। यसरी अभिभावकहरुलाई पुरस्कृत गर्दा बिध्यालयको शैक्षिक गुणस्तरमा टेवा पुग्ने आशा बिध्यालयले राखेको वहाँले बताउनुभयो।

वर्ष उत्कृष्ट जिम्मेवार अभिभावक दुर्गाबहादुर कार्की बने भने  बर्ष उत्कृष्ट जिम्मेवार आमाको ताज सोमा तामाङ् राईले प्राप्त गरिन्। यतिमात्र हैन अक्षयकोषदाताहरुले बिध्यालयमा राख्नुभएको अक्षयकोषको ब्याज रकमले बिध्यालयले प्रत्येक बर्ष उत्कृष्ट शिक्षक तथा बिभिन्न बिधामा उत्कृष्ट बिध्यार्थीहरुलाई पनि पुरस्कृत गर्दै आएको प्रधानाध्यापक राईले बताउनु भयो।

यो बर्षको बर्ष उत्कृष्ट शिक्षकको पुरस्कार अंग्रेजी शिक्षक राजेश राजबंशीले प्राप्त गर्नुभएको वहाँले बताउनुभयो।

अन्तर बिध्यालय तथा आन्तरिक प्रतियोगीताहरु

आन्तरिक रुपमा बिध्यालयका बिभिन्न सदन बिच खेलकुद कार्यक्रम तथा स्थानीय साल्पासिलिछो गाउँपालिका अन्तरगतका बिध्यालयबिच बिभिन्न बिधामा अन्तर प्रतियोगीताहरु गराईएको थियो।

बक्तृत्वकला बिधामा पालिकास्तरीय आधारभूत बिध्यालयबिच गराईएको  प्रतियोगीतामा वीरेन्द्र माबि कुलुङ प्रथम, सालेवा माबि सालेवा द्वितीय तथा आयोजक जाल्पा माबि चौकीडाँडा तृतिय भएका थिए। बक्तृत्वकलाको बिषय "लागूपदार्थ दुर्ब्यसनी रोकथाममा बिद्यार्थिको भुमिका" राखिएको थियो। त्यस्तै कक्षा ९ देखि १२ का बिध्यार्थीबिचको सामुहिक लोकनृत्य प्रतियोगीतामा आयोजक जाल्पा माबि चौकीडाँडाको टिम प्रथम भयो भने सालेवा माबि सालेवाले द्वितिय स्थान हासिल गर्यो। तेश्रो पुरस्कार वीरेन्द्र माबि कुलुङले प्राप्त गरेको कुरा प्रधानाध्यापक राईले दोबाटो न्यूजलाई बताउनुभयो।

स्थानीय वार्ड नं ३ प्राबिस्तरीय हिसाब दौडमा जाल्पा माबि प्रथम भयो भने जाल्पा प्राबि छौँसा द्वितिय र साउने पन्चकन्या प्रावी, कारी तृतिय भएको थियो। त्यस्तै कक्षा ४ र ५ स्तरीय हाजिरीजवाफ प्रतियोगितामा जाल्पा माबिले प्रथम पुरस्कार थाप्यो भने जाल्पा प्राबि छौँसा द्वितीय भएको थियो। जयकला प्राबि गोपिनीचौरले तृतिय स्थान हाँसिल गर्यो।

समारोहको समुद्घाटन स्थानीय साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङ राईले गर्नुभएको थियो।

६७ बर्ष पहिले स्थापित यो बिध्यालय हाल १२ कक्षा सहित संचालनमा छ। बिगतमा उच्च माबिको स्वरुपमा संचालन हुँदा बिध्यालयले जिल्लामै उच्च माबिस्तरीय उत्कृष्ट रिजल्टको पुरस्कार प्राप्त गरिसकेको छ भने बिध्यालयस्तरमा पनि पुरस्कृत भैसकेको छ।