हुम्ला। पश्चिमी वायुको प्रभावले हुम्लालगायत कर्णाली प्रदेशका उच्च हिमाली जिल्लाहरूमा हिमपात सुरु भएको छ ।
हिमपातले अधिकांश कर्णालीका उच्च भू–भाग सेताम्य हुँदा चाँदी जस्तै टल्केका छन् ।
हुम्लाको नाम्खा गाउँपालिकाको सदरमुकाम सिमकोटसँग सम्पर्क विच्छेद भएको छ । नाम्खामा २ फिटसम्म हिउँ जमेको छ । नाम्खा– ६ लिमी उपत्यकाको तिल, जाङ र हल्जी गाउँ जाने न्यालुलेकको साथै हिल्सा नाका पनि बन्द भएको छ । चीनबाट नेपाल तर्फ जोड्ने हिल्सा नाका अब जेठ महिनासम्मको लागि बन्द हुँदा त्यहाँका बासिन्दासँग पूर्ण रुपमा सम्पर्क विच्छेद हुने भएको छ । हिमपात भएसँगै नाम्खाको लिमी तिल, जाङ, हल्जी, चाला, मुचु, याङगार, यारी केर्मीलगायतका ठाउँमा चिसोले जनजीवन कष्टकर भएको छ ।
बिओपीलाई खानेपानीको समस्या
हिमपातले हिल्सा नाकामा यसै वर्ष स्थापति सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल (बिओपी) लाई खानेपानीको समेत समस्या भएको छ । चिसोले खानेपानीको पाइपमा पानी जमेपछि नदीको पानी खान बाध्य भएको सशस्त्र प्रहरीका इन्चार्ज सुरज के.सी ले जानकारी दिए । २२ जना सशस्त्र प्रहरी र १२ स्थानीयबासी गरी ३४ जना हिल्सामा रहेको उनले बताए ।
आन्तरिक पर्यटक हिँउ खेल्न पाउँदा मख्ख
यसरी हिँउ पर्दा हिँउ पर्यटन भने बढेको छ। आन्तरिक रुपमा सरकारी तथा गैरसरकारी कार्यालयमा काम गर्ने कर्मचारी, स्थानीय हिउँमा फोटो, भिडियो खिच्न पाउँदा दंग भएका छन् ।
जिल्लामा विहीबारसम्म हिउँ पर्न सक्ने र शुक्रबारदेखि मात्र मौसम सफा हुने मौसम विभागको अनुमान छ ।
स्थानीय तहले हिमपातबाट बालबालिका र बृद्धबृद्धालाई विशेष चिसोबाट जोगिन गरिने विभिन्न उपाय अपनाई जिउ ज्यानको ध्यान पु-याउन सूचना गरेको छ । हिमपातको बेला घर भन्दा बाहिर समेत निस्कन गाह्रो भएको छ । चिसो बढेपछि पशु चौपायालाई घाँस र पानी खुवाउन समेत समस्या देखिएको छ ।
( सम्पूर्ण फोटाहरु:रेशमराज रोकाया,रासस )