काठमाडौं। निजी विद्यालय सञ्चालकहरूले लकडाउन अवधिको पुरै विद्यालय शुल्क बुझाउन भनेका छन्।
निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै अभिभावकहरूलाई २०७६ को बाँकी रहेको शुल्क तथा २०७७ सालको सबै शुक्ल भुक्तानी गर्न भनेका हुन्।
प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले विज्ञप्ति जारी गरी २०७६ को बाँकी बक्यौता चुक्ता गर्न आग्रह गरेका छन्। विज्ञप्तिमा २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गरी विद्यालयलाई सहयोग गर्नुपर्ने भनिएको छ ।
कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा चरम आर्थिक संकट भोग्नुपरेको निजी विद्यालय सञ्चालकहरूको भनाइ छ।
कोरोना महामारीपछि आर्थिक संकटका बेला सरकारले निजी विद्यालयलाई राहतलगायत सहयोग नगरेको प्याब्सन र नेशनल प्याब्सनको भनाइ छ।
"लकडाउनले विद्यालय बन्द हुँदा आम्दानी शुन्य भएको छ। विद्यालयमा आश्रित २ लाखभन्दा बढी शिक्षक, कर्मचारी र उनीहरूका परिवारले जीवनयापन कठिन भएको छ," विज्ञप्तिमा भनिएको छ, "भाडामा सञ्चालित विद्यालयले भाडा तिर्न सकेका छैनन्।"