मंगलवार, मंसिर १६, २०७७
/
कोरोना मनोविज्ञान
चैत १५, २०७६
  -ईश्वर चौहान

चीनको वुहानमा पहिलोपटक देखिएकोे कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएको छ । विश्व स्वास्थ्य सङ्गठनले महामारीको संज्ञा दिएसँगै विश्वका प्रायः देशहरू अहिले ‘लकडाउन’ को अवस्थामा छन् । अनुसन्धानकर्ताहरूले कसरी यो मानिसमा फैलिएको भन्नेबारे खोज जारी राखेका छन् । चिकित्सकहरूका अनुसार तीव्र सङ्क्रमण हुने पूर्ववत् रुघा प्रकृतिको तर भिन्न रोगको रुपमा परिभाषित गरिएको छ । यसबाट ज्वरो, खोकी, श्वासप्रवाहमा कठिन हुने सामान्य लक्षण रहे तापनि निमोनिया, मिर्गाैला विफल र मृत्युसमेत हुनसक्ने खतरा छ । यसर्थ ठूलो मानवीय क्षति गराइरहेको यो महामारीले मानव समुदायमा मनोवैज्ञानिक आतङ्क सिर्जना गरेको कुरामा दुईमत छैन ।

चिकित्साक्षेत्रलाई नै चुनौती दिने अनुसन्धेय रोग कोरोना भाइरसको यथार्थ नबुझी भ्रमको खेती गर्न हामी कम्ती छैनौँ। लाग्दा सरिहाल्ने र छिट्टै मरिहाल्ने मानसिकता पहिलो मनोवैज्ञानिक मृत्यु हो । हामी कागले कान लग्यो भन्दा कान नछामी कागतर्फ दौडिहाल्ने बुद्धिमानहरूको भीडमा छौँ। यस सङ्कटमा भएको नुन लुकाएर सुनको मूल्यवृद्धि गर्दा लौकिक आनन्द प्राप्त होला तर पारमार्थिक सत्य हामीभन्दा धेरै टाढाको कुरा हो। त्यसको छानबिन कोरोनाले नै गर्ला। विज्ञान र प्रविधिलाई नै चुनौती दिने यसप्रकारको विपत्तिले बहुमनोविज्ञानको सिर्जना गरेको भने प्रष्ट देखिन्छ।

कोरोनाले अवसर दिँदैन

कोरोना भाइरस मानवीय सङ्कट निर्माण गर्ने महामारी हो न कि अवसर। यो संवेदनशीलता हो। यस घडीमा मन अमिलो पारेर बाँचिरहेका नेपाली शक्तिशाली राष्ट्रहरूको रातोदिनको कोरोनाविरुद्धको लडाइँ हेरिरहेका छन्। नेपाल सरकारले नियन्त्रणका लागि आफ्नो तर्फबाट गर्ने प्रयास जारी राखेको छ। कोरोना आतङ्कले वैदेशिक रोजगारीमा रहेकाहरूलाई जबर्जस्त गौचरन(काठमाडौं एयरपोर्ट)मा अवतरण गर्दाको हेक्का छ कि छैन, विश्वबजारमा आर्थिक सङ्कटको भय त्यत्तिकै छ। खाद्य सङ्कट र जैविक अस्तित्व धरापमा पर्ने सम्भावना पनि आँकलन गर्नुपर्ने आवश्यकता सरोकारवालामा जाग्नु आवश्यक देखिन्छ। जनतामा मनोवैज्ञानिक त्रास वृद्धि भइरहेको छ ।
 

दुःख-पीडाभित्र अवसर देख्ने महानताको कुनै अर्थ छैन। पारमार्थिक सत्यको विश्वास गर्नुपर्ने अवस्था छ। विश्व स्वास्थ्य सङ्गठनले अपिल गरेका नियमित हात धुनु, खोक्दा वा हाच्छ्युँ गर्दा नाक मुख छोप्ने, मासुजन्य पदार्थ राम्रोसँग पकाएर खाने, सङ्क्रमित व्यक्ति तथा वस्तुसँग टाढा रहने आदि उपाय अवलम्बन गर्न गराउन जनस्तरसम्म सचेतना अभिवृद्धि गर्नुपर्ने तत्कालीन आवश्यकता हो ।


हिजो ग्रामत्याग गर्नेहरू सहरबाट चिच्याइरहेका, भागेका छन्। सरकारका आधिकारिक सूचनाभन्दा सामाजिक सञ्जालमा भर पर्ने अवस्थाले थप अन्योल थपेको छ। हाम्रा जनप्रतिनिधि र केही विद्वानले कोरोना सङ्क्रमणलाई अवसरका रुपमा लिनुपर्छ भन्दैछन्।



दुःख-पीडाभित्र अवसर देख्ने महानताको कुनै अर्थ छैन। पारमार्थिक सत्यको विश्वास गर्नुपर्ने अवस्था छ। विश्व स्वास्थ्य सङ्गठनले अपिल गरेका नियमित हात धुनु, खोक्दा वा हाच्छ्युँ गर्दा नाक मुख छोप्ने, मासुजन्य पदार्थ राम्रोसँग पकाएर खाने, सङ्क्रमित व्यक्ति तथा वस्तुसँग टाढा रहने आदि उपाय अवलम्बन गर्न गराउन जनस्तरसम्म सचेतना अभिवृद्धि गर्नुपर्ने तत्कालीन आवश्यकता हो । हातसँगै मन पनि स्वच्छ बनाउँदै जाँदा सत्कर्मले दिग्विजय प्राप्त गथ्र्यो । यस सङ्कटको घडीमा हाम्रो ज्ञान कमजोर देखिन्छ ।
 

चुनावमा भोट माग्न खटिए झैं जनचेतना फैलाउन होडबाजी गरौँ। जसले यसलाई नवचेतना र सिर्जनाका लागि अवसर बनाउन चाहन्छौँ, सोहीअनुरुप कार्यसम्पादनमा लागौँ। हाम्रो चिकित्सा प्रणालीको क्षमता वृद्धि गरौँ। चिकित्सकहरूमा विश्वास गरौँ र उत्साह थपौँ। नुन र सुनमा परनिर्भर भए पनि आलु र प्याजमा आत्मनिर्भर हुन प्रयत्न गरौँ।


हाम्रो उच्छिल्याइँ

कोरोना सङ्क्रमणले निर्माण गरेको मानवीय आतङ्क हामी आँकलन गर्न सकिरहेका छैनौँ। हतास मानसिकता वा जिजीविषाकै कारण सुरक्षाका अनेक उपाय अपनाउँदै आएको तथ्य सामाजिक सञ्जालमा आइरहेका छन्। मास्क, पञ्जा र पूरै शरीर ढाक्ने एयरप्रुफ कपडा लगाउनु स्वाभाविक छ। यसैबीच सङ्क्रमणमा परेको देशका नागरिकले अपनाएको विभिन्न सुरक्षाव्यवस्था सामाजिक सञ्जालमा देखापर्न थाले। मास्कले नधान्ला भन्ने भयले मास्कभित्र प्याड लगाएर सुरक्षा अपनाएको फोटो उच्छिल्याइँ पक्कै पनि थिएन होला। उक्त फोटो भाइरल भइरहँदा हाम्रो संवेदनशीलताले फरक मोड लिनथाल्यो। भित्री वस्त्रलाई मास्कको रुपमा प्रयोग गरेर स्टार बन्न खोज्यौँ । प्याजको पत्र, बटुको, सालको बोगटो वा यस्तै पातका मास्क बनाएर सामाजिक सञ्जालमा फिँजार्ने अनेकन जुक्ति अपनाउन थाल्यौँ। यी वैकल्पिक मास्क हुन् वा उच्छिल्याइँ सर्वसाधारणले कसरी बुझ्ने ? यो हाम्रो संवेदनहीनता बाहेक केही हुन सक्दैन ।

टुप्पापट्टि बसेर फेदपट्टि काट्दा काले कालिदास भएका होइनन् ? फेरि कोरोना सङ्क्रमणको सङ्कट र संवेदनशीलता गाईजात्राको ‘कन्टेन्ट’ पनि होइन। यस्तो पनि नसोचौँ कि कोरोना लागेर मरिहालिन्छ भन्ने चिन्ताले आफ्नो जात्रा आफैँ गरिहालौँ। सांसददेखि जनतासम्म उच्छिल्याइँ गर्ने हाम्रो प्रवृत्ति कत्ति पनि सुहाएको छैन।

चीनका महान् नेताको तस्बिर भएको पैसामा मास्क लगाएर गरिएको पीत पत्रकारिताको पाठ पनि नमिठो पक्कै लाग्नुपर्ने हो। रक्सी खाएर बाटोमा हल्लिँदै कोरोनाबाट बाँचेको भन्दा आफ्नो औकात तौलने कि ? अब उच्छिल्याइँ होइन सावधानी अपनाउँ, सत्य खोजौँ र रोजौँ, संवेदनशील बन्न एकसाथ आह्वान गरौँ। सचेत बनौँ, मेरो देश कोरोनामुक्त बनोस्, विश्वसमुदाय स्वस्थ बनुन्।
 

टुप्पापट्टि बसेर फेदपट्टि काट्दा काले कालिदास भएका होइनन् ? फेरि कोरोना सङ्क्रमणको सङ्कट र संवेदनशीलता गाईजात्राको ‘कन्टेन्ट’ पनि होइन। यस्तो पनि नसोचौँ कि कोरोना लागेर मरिहालिन्छ भन्ने चिन्ताले आफ्नो जात्रा आफैँ गरिहालौँ। सांसददेखि जनतासम्म उच्छिल्याइँ गर्ने हाम्रो प्रवृत्ति कत्ति पनि सुहाएको छैन।


के गर्ने ?

सर्वप्रथम रिस उठेकालाई वा अप्रिय वचन गर्नेलाई तेरा मुखमा कोर परिजाओस् भन्ने मिथ कथनझैं तँलाई कोरोना लागिजाओस् भन्ने मनोविज्ञानको अन्त्य गरौँ। भ्रष्टाचारी वा अनाचारीविरुद्धको आक्रोशमा भन्नेहरूप्रति केही भन्नु छैन। जनतामा फैलिएको मनोवैज्ञानिक त्रास अन्त्य गर्न जनचेतनाको अभियान चलाऔं। सञ्चारमाध्यम र सञ्जालहरू एकसाथ प्रयोग गरौं। बालबालिकाले ‘फ्रिफाएर’ खेल्दा ‘इनमी’ सिध्याएझैँ कोरोनाको मनोवैज्ञानिक आतङ्कको समाधान खोजौँ।

चुनावमा भोट माग्न खटिए झैं जनचेतना फैलाउन होडबाजी गरौँ। जसले यसलाई नवचेतना र सिर्जनाका लागि अवसर बनाउन चाहन्छौँ, सोहीअनुरुप कार्यसम्पादनमा लागौँ। हाम्रो चिकित्सा प्रणालीको क्षमता वृद्धि गरौँ। चिकित्सकहरूमा विश्वास गरौँ र उत्साह थपौँ। नुन र सुनमा परनिर्भर भए पनि आलु र प्याजमा आत्मनिर्भर हुन प्रयत्न गरौँ। कोरोनाका कारण निम्तिन सक्ने विश्व आर्थिक सङ्कट र भोकमरीबाट बच्न स्वरोजगार सिर्जना गरौँ। आजैबाट बाँझो जग्गा खनजोत गरी भुँडी सङ्कट अन्त्यको प्रयत्न गरौँ। आफूबाट परिवर्तनको आरम्भ गरी आत्मनिर्भर नेपालीको गौरवशाली राष्ट्र बनाउने अभियानमा हातेमालो गरौँ।

(भोजपुरको कुलुङमा जन्मिएका लेखक हाल गोरखा क्याम्पस गोरखामा प्राध्यापन गर्छन्।भाषाबिज्ञान तथा अनुसन्धानमा निरन्तर लेख्ने लेखकले पुस्तक पनि प्रकाशन गरेका छन्। )