मंगलवार, मंसिर १६, २०७७
/
षडानन्द नगरपालिका-१२:बिकाश र संभावनाको उन्नत थलो
फागुन २९, २०७६
  दोबाटो सम्वाददाता

                            -भक्त बहादुर तामाङ

भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा जिल्ला सदरमुकामबाट झण्डै १२ कोष दुरीमा रहेको दिङला, षडानन्द नगरपालिकाको प्रशासकिय केन्द्र मात्र हैन धेरै नै संभावना बोकेको एउटा ठाउँ पनि हो। त्यहि दिङलाभन्दा केही दक्षिणमा पर्छ षडानन्द नगरपालिका वार्ड नं १२। उत्तरमा खकुवा खोला, पूर्बमा अरुण नदी, दक्षिणमा सिमल भन्ज्याङ र पश्चिममा नख्वा र याङगुवा खोला षडानन्द नगरपालिका-१२ का सिमाना हुन्। अनुमानित ३३५ मीटरदेखि २००० मीटरको भौगोलीक उचाईमा यो वार्ड नं १२ फैलिएको छ।


षडानन्द नगरपालिका-१२ पहिलाको साबिक देउराली गाबिसमा पर्छ। पहिलाको देउराली गाबिस अहिले षनपा-११ र १२ दुई वार्डमा बिभाजित भएका छन्। साबिक देउराली गाबिसको मुख्य बजार झ्याउँपोखरी हो तर हालको षनपा-१२ को त्यस्तो चल्ती बजार स्थापना भैसकेको छैन। बजार क्षेत्रको स्थापना गर्नुपर्ने भएको छ।


यस ठाउँका महत्वपूर्ण बाक्लो बस्तीक्षेत्रमा टारीगाउँ, तित्रीडाँडा, दाईजोर, जिमीगाउँ, अड्चले, तुर्केबेसी, रामकण्ठे, कुमालगाउँ, गोपेटार हुन्। हाल यहाँ शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, बिद्धुत, उद्धोग आदि क्षेत्रमा बिकाशको प्रवल संभावना बढेर गएको छ भने यहाँ कलकल बग्ने नदीनाला तथा प्राक्रितीक सुन्दरताले यो ठाउँ मनमोहक लागिरहन्छ। यहाँका स्थानिय वस्तीले इतिहासको झल्को दिन्छ।
 



अड्चले, तित्रीडाँडा, तुर्केबेसी, भीमसेनडाँडा, दाङसिङजोर, टारीगाउँ, सिमलभन्ज्याङ यहाँका धार्मीक तथा पर्यटकीय स्थान हुन्। गाउँको सामुन्ने अरुणपारी सुबिधासम्पन्न तुम्लिङटार एयरपोर्ट रहेको ठाउँ तुम्लिङटार बजार आधुनिक शहरको रुपमा बिकाश भईरहेकोले त्यसको पहुँचले पनि यो क्षेत्रले नै छिटो छिटो बिकाशको फड्को मार्ने अनुमान गर्न सकिन्छ।

चतराबाट सप्तकोशी अनि अरुण नदी भएर लम्सुवाघाटसम्म सानाठूला वाटरबोट चलाउन सकेमा पर्यटकको ठूलो र आकर्षक गन्तब्य बन्नेछ षनपा-१२ भन्ने मलाई लाग्दछ।



याङगुवा खोलादेखि खकुवा खोलाको दोभानसम्म २०,२२ जना अटाउने वोट चलाउन सके झनै यातायात र पर्यटनमा राम्रो हुने स्थानीयबासी बताउँछन्। यही बिचमा पर्ने तुर्केबेसीमा साना पानीजहाज आरामस्थल, स्वीमिङ पुल र ठूला ठूला रेष्टुरेन्ट बनाउन सके बिकाशले तिब्र मोड लिने र लगानी गर्नेको लागि पनि यो क्षेत्र एउटा भर्जिनल्याण्ड हुने कुरा पक्का छ।


३३५ देखी २००० मीटर उचाईमा बिभिन्न प्रकारको हावापानीमा यहाँ दुर्लभ मानिएका अशोक ब्रिक्ष, चाँप, गुराँस, छ्यागे, सल्लो आदि वनस्पती तथा जंगली जनावरमा म्रिग ,बँदेल, बाघ, भालु, बाँदर, स्याल अनि पशुपंक्षीमा सुगा, कालिज, आदी पाईन्छन्। यस ठाउँको भौगोलिक बनावटमा, बेसी खोचभागदेखी उच्च पहाडी क्षेत्रले ओगटेको छ। वार्डको मध्यक्षेत्रमा खाद्धबालीको अलावा नगदेबालीको रुपमा रुद्राक्ष, सुन्तला, कागती र माथिल्लो भागमा अलैँची, आलु, चिराईतो आदी प्रशस्तै उब्जाउन सकिन्छ। सतुवा, पाँच अम्ले जस्ता जडिबुटीको पनि प्रचुर सम्भावना छ।
 



अरुण नदीको लम्सुवाघाटमा मोटरेवल पक्की पुल बन्न सकेको छैन। जसको कारण यो ठाउँको सोचे अनुसारको बिकाश हुन सकेको छैन। यस ठाउँमा  बिद्धुत, खानेपानी, शिक्षा, स्वास्थ्य, यातायातको क्षेत्रमा भने अहिले क्रमिक बिकाश हुँदै गरेको अवस्था छ।

(लेखक भोजपुर सेवा समाज यूएईका पूर्व संस्थापक तथा अध्यक्ष रहि हाल नेपालमै समाजसेवाको क्षेत्रमा कार्यरत हुनुहुन्छ।)