मंगलवार, मंसिर १६, २०७७
/
'आमाको सपना' - बिष्णुबल किराँती
फागुन २४, २०७६
  दोबाटो सम्वाददाता

आमाको सपना

-बिष्णुबल किराँती

उज्यालोले बिस्तारै बिस्तारै
धर्तीमा पाइला टेक्दै गर्दा,
विभिन्न सपनाहरु बोकेर
नयाँ दिन जन्मन्दै गर्दा,
मैले पनि यस धर्तिमा
पाइला टेकिरहेको रहेछु,
मेरो आमाको
ठुलो सपना बनेर।

जब,मैले धर्तिमा
पाइला टेक्दै गर्दा,
आकाश पनि खुसीले
रोइरहेको रहेछ
अनि,म पनि
त्यतिनै बेला मेरी आमा,
सारा प्रसबको पिडा भुलेर
मलाई काखमा राखी
भनिरहेकी थिइन्।
छोरा नरोउ,
तिमी त बहादुर बन्नुपर्छ।
देशको रक्षक बन्नुपर्छ।

छोरा रुन त म
कयौं रात रोइसकेँ,
मेरो छाती
कुल्चिएको बेला रोएँ।
तिम्रो चेलीको अस्मिता
लुटिएको बेला रोएँ।
तिम्रो बाबाको पाइला
रोकीएको बेला रोएँ।
तर कहिल्यै थाकिन,
तिमीलाई जन्मदिने आशामा
सपनाको हजारौँ सगरमाथा चढीसकेँ
आँसुको लौरीहरु टेक्दै टेक्दै !!!

मेरो बाबा यस धर्तीमा
पाइला टेक्दै गर्दा
मेरो हजुरबा
बर्माको रणभुमिमा,
अनि म यस धर्तीमा
पाइला टेक्दै गर्दा,
मेरो बाबा
जम्मु र कश्मिरमा,
हिँउको न्यानो पराइ बर्दी ओडेर
बम र बारुदसँग
जीवन अनि मृत्युको
लुकामारी खेलिरहेका थिए।

अनि आमा,
मलाई भनिरहेकी थिईन्
छोरा तिमी बर्मामा लड्ने होइन,
नत जम्मु कश्मिरमा,
तिमी त त्यहाँ लड़नुपर्छ,
जहाँ तिम्रो युद्धभुमिमा
चन्द्र सुर्य फर्फराइयोस्,
तिम्रो बन्दुकको बारुदमा
मेची कालीको बालुवा मिसिएको होस्,
किनकी मैले
मेरो देश जितेको हेर्ने आशामा
सपनाको हजारौँ सप्तकोशी तरिसके
भावनाको डुंगाहरु खियाउदै खिय़ाउदै।

अनि,फेरि आमा
भनिरहेकी थिईन्,
सगरमाथाको तिम्रो देश
आफै म उच्च भएर पनि,
बिश्व सामु झुकेको छ।
तिम्रो सप्तकोशी,
तिम्रो नारायणी,
तिम्रो महाकाली,
बग्दा बग्दै रोकिएको छ
तिम्रो लिपु लेकमा
तिम्रो सुस्तामा
चम्किरहेको चन्द्रसूर्य
अस्ताएका छन्,
तिम्रो सीमानाको जंगेपिलर
जिउदै चितामा छटपटाइरहेका छन्।

छोरा जाऊ
मट्टीको टिका लगाऊ,
चन्द्र सूर्य अनि
जंगी निसान छोएर कसम खाऊ,
सुतेकालाई उठाउ,
उठेकालाई जुटाउ,
बनाउ देशलाई हरियाली
किनकि देश हरियाली हेर्ने आशामा
मैले आँसुका भेलहरु बगाएको छु,
संघर्षका कोदालोले नहरहरु खन्दै खन्दै।

फेरि आमा,
लामो सुस्केर लिंदै
मलाई छातीमा टाँस्दै
भनिरहेकी थिईन्,
छोरा यिनै हुन्
तिमी भित्र देखेका
मेरो सपनाको रहरहरु,
जुन तिमीले पुरा गर्नुछ
हो, त्यै पुरा भएको दिन हुनेछ,
तिमीले चन्द्रमा छोएको दिन।
त्यै खुसीमा म पनि,
भक्कानिन्दै रोएको दिन।

साल्पासिलिछो-, खाटाम्मा, भोजपुर।
(साल्पासिलिछो सेवा समाजद्वारा आयोजित कवि गोष्टीमा प्रथम पुरस्कारले पुरस्क्रीत कविता)