मंगलवार, श्रावन १२, २०७८
/
भोजपुरको इर्खुवा-चिर्खुवा भेगमा कृषि क्रान्ति:सोच,तयारी र अवधारणा
जेठ २७, २०७८
  -आजेश राई

संसारमा विज्ञान र प्रविधिले फड्को मारेर विकाशोन्मुख मुलुकहरुले हाम्रोजस्तो अल्पविकसित मुलुकलाई धेरै पछाडि छाडिसकेका छन्। खासगरि हाम्रो देश नेपाल उत्पादन र निर्माणमा धेरै पछाडि छ।



हामी जस्तो पछाडि परेका देशले विकसित मुलुकहरुसँग मेशिनरी बस्तुहरुका उत्पादन तथा निर्यात गर्दै विदेशी मुद्रा भित्र्याउन खोज्ने काम अब सान्दर्भीक पनि देखिन्न। बरु नयाँ सोच र कार्ययोजनाले जग्गा जमिन र हावापानी सुहाउँदो कृषि उत्पादन गर्न हामी सबै आजैदेखि होमियौँ भने देशको उन्नति छिटो र दिगो पनि हुने प्रष्ट छ।


हाम्रा हरेक उत्पादन नाफामुखी हुन जरुरी छ। जबसम्म देशको निर्यात आयात भन्दा उच्च बनाउँन सकिदैन तबसम्म देश सम्पन्न हुन सक्दैन। एकातिर सरकार आन्तरिक राजनीतिक झगडाको भूमरिमा फस्न जाँदा बिकाश निर्माणको डेलिभरिमा असफल बन्दै गैरहेको छ भने अर्कोतर्फ बिगत १ बर्ष यता कोरोनाको माहामारीले लाखौ श्रमीक तथा निम्न मध्यम बर्गलाई पूर्ण गरिवीमा धकेलिदिएको छ। यसले त्यो बर्गका परिवार शिक्षा प्राप्त गर्ने तथा राम्रो स्वास्थ्यसहित बाँच्न पाउने कुरामा खतरापूर्ण अवस्थामा पुग्दैछन्।

 

माथिनै भनियो कि दिगो बिकाशको लागि जग्गा जमिन र हावापानी सुहाउँदो कृषि उत्पादन गर्न हामी सबै आजैदेखि होमिनुपर्ने हुन्छ। यसरी काम गर्न म भोजपुर जिल्लाको उत्तरी भेगको चिर्खुवा खोला उत्तर तथा संखुवा खोला पश्चिमको मलिलो, ओशिलो तथा हरियाली क्षेत्रलाई एक सिंगो कृषि क्षेत्र मानेर किन काम अगाडि नबढाउने भन्ने प्रस्ताब अगाडि सार्न चाहन्छु।

             
                     ( काजुका फल/खेती )


यसका लागि काल्नाकुल्नी, जमिनका बनावट, सिंचाइ प्रबन्धका कठिनाई, उन्नत जातका बीउबिजन र ढुवानी सेवाका कठिनाई जस्ता यावत समस्यालाई छिचोलेर बाहिरी उत्पादित बस्तुसंग बिक्री मूल्यमा प्रतिस्पर्धा गर्न सक्ने गरि उत्पादन गरिनु पर्ने हुन्छ भन्ठान्छु। जग्गा जमिनको यथोचित प्रयोग गर्दै आधुनिक तरिकाले कृषि उत्पादन गर्न यसरी एक नयाँ क्षेत्रलाई छनोट गरिसकेपछि उत्पादनहरुलाई कसरी नाफामुखी बनाउन सकिन्छ भनेर यो अवधारणा प्रस्तुत गर्ने जमर्को गरेको छु। अवधारणा अन्तर्गत कामका ब्यवस्थापनको पाटोलाई बुँदागत रुपमा बिभाजन गर्ने जमर्को गरेको छु।

१. केन्द्रिय व्यवस्थापन कमिटी- क्षेत्रलाई समेटेर वा रेखांकन गरेर कार्ययोजना बनाउने हो। जस्तै चिर्खुवा र संखुवा खोला भित्रका भूभाग भित्रका स्थायी वासिन्दाहरुको केन्द्रिय मूल व्यवस्थापन कमिटी बनाई सो कमिटीले विभिन्न कार्ययोजना बनाउने साथै सम्पूर्ण कृषक समूहका हकहितमा कार्यहरु गर्ने, गराउने।

२. क्षेत्रगत व्यवस्थापन कमिटी- निश्चित निश्चित क्षेत्रलाई बाँडफाँड र रेखांकन गरेर सो क्षेत्रमा क्षेत्रिय शाखा व्यवस्थापन कमिटी बनाई प्रत्यक्ष रुपमा कृषक समूहलाई सहयोग पुर्याउने काम गर्ने ।

३. समूहगत कार्य तथा व्यवस्थापन कमिटी- क्षेत्रगत व्यवस्थापन कमिटी अन्तर्गत रहने प्रत्यक्षरुपमा सुहाउँदो र व्यबहारिक संख्याको कृषकहरूको समूह बनाई एकआपसमा दैनिक कामकारबाही गर्ने।

४. श्रमशक्तिको सामुहिकीकरण- समूहगत कार्य तथा व्यवस्थापन कमिटी भित्र श्रमशक्तिको उपयोग र यसबाट हुने नाफामुखी परिणाम नै वैज्ञानिक श्रमशक्तिको सामूहिकीकरण हो। 


       
                  ( मेकाडेमीया नटका फल/खेती )


यी अवधारणा अनुसार विशेष गरि ठुला आकारमा गरिने कृषिकार्यमा व्यबहारिक हनेछ। सानातिना कृषि कार्यमा भने श्रमशक्तिलाई सामूहिकीकरण गर्न जरूरी छैन। यी केही बुदाँहरु मेरा बिचार मात्र हुन्। यसमा अझै सबै सबै तथा त्यो क्षेत्रका ब्यक्ति ब्यक्तित्वका सोचबिचार, सुझाब तथा कार्ययोजना मुताविक कार्यान्वयन गर्न सकिनेछ।

(राजनीतिकर्मी तथा समाजसेवी आजेश राई बिभिन्न खोजमूलक बिषयमा निरन्तर लेखिरहन्छन् )