दसैँ आयो !!!
-बिष्णुबल किराँती
बा ! दसैँ आयो है
हो छोरा दसैँ आयो
ठुलो उत्साह बोकेर आयो
यसपाली झनै बढी खुसी
बोकेर आयो,
उ खुसीले मातिन्नेछ
घटस्थापना नै उसलाई
दसमी जसरी लाग्नेछ
किनकी,
पोहोर सालको साँवा
ब्याज,स्याज भएर
यसपाली पुन:नयाँ साँवा
थपिनेछ
सायद,यतिबेला ऊ
त्यै ब्याजको डोरी बाटेर
मच्चिँदै होला मनमनै
लिङ्गे पिङ्ग
हो छोरा दसैँ आयो
तिम्रो भबिस्य बोक्ने
मेरो थाप्लोमा,
नयाँ भारी थप्दै दसैँ आयो ।
बा..! दसैँ आयो है
हो छोरी दसैँ आयो
ऊ त्यहाँ हेर त
तिम्रो अस्मिता ढाक्ने
तिम्रो भबिस्य बोक्ने ढाक्रे
घटस्थापनाबाटै
जाग्राम बसेको छ
तिम्रो साहारा बन्ने तोक्मा
घटस्थापनाबाटै
बेसहारा बनेको छ,
हो छोरी दसैँ आयो
तिम्रो अस्मितालाई लुट्दै
तिम्रो भबिस्यलाई धकेल्दै
दसैँ आयो ।
बुढा..! दसैँ आयो है
हो बुढी दसैँ आयो
वर्षभरि फाटेको
तिम्रो चोली टाल्ने
एक डोको कमेरो पनि
नबोकेर आयो,
बर्षभरि घोटिएको
तिम्रो हात पोत्ने
एक ढिक्का रातो माटो
नबोकेर आयो,
पटक-पटक गरि
कयौं रात ओसिएको
तिम्रो चुलो ओभानु पार्ने
एक सिन्को दाउरा
नबोकेर आयो,
हो बुढी दसैँ आयो ।
यो दसैँ हाम्रो झुपडीमा
कहिल्यै दसैँ बनेर आएन
न प्रजातन्त्रमा
न पंचायतमा
न लोकतन्त्रमा
दसैँले हामी माथि
सधैँ बिजयोत्सब मनाईरह्यो
परिवर्तनको नाममा
अनेक ग्रन्थ फेरियो
इतिहास फेरियो
संबिधान कोरियो
तर,
दसैँ र हामी बिचको सम्बन्धको
कुनै अध्याय फेरिएन
कुनै बिषय फेरिएन
कुनै धारा फेरिएन
हो,
कुनै समिक्षाको लडाईंमा
सहभागी नभई
फेरि,त्यै मिति सकिएको
खुशी बोकेर
एकतर्फी बिगुल फुक्दै
हाम्रो आँगनमा
दसैं आयो !!
-साल्पासिलिछो गाउँपालिका-४, भोजपुर।