शनिबार, माघ १०, २०७७
/
आज मध्यान्हसम्म चन्द्रागिरी हिल्सको आईपिओमा ११ गुणा बढी आवेदन
पुष २६, २०७७
  दोबाटो संवाददाता

काठमाडौं। पुस २४ गतेदेखि विक्रीमा आएको चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा आइतवार २ बजेसम्म ८ लाख १५ हजार ६१० जनाको आवेदन परेको छ। 


सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आज आइतवार २ बजेसम्म यी आवेदकहरुबाट १ करोड ५९ लाख ८९ हजार ७० कित्ता शेयर खरीदको माग भएको हो । 


दुई दिन अझै आवेदन दिने दिन बाँकी रहेको यो आईपीओमा आवेदन ११ गुणाभन्दा बढी हो।

कम्पनीले सार्वजनिक निष्कासनमा सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता शेयर विक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आईपीओमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।


कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि विक्री खुला गरेको हो । यो आइपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्मका आवेदन माग गर्न सकिने व्यवस्था छ ।


आईपीओ विक्रीको छिटो अवधि पुस २८ र ढिलो माघ ९ गतेसम्म तोकिएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटोअवधिभित्र विक्री बन्द हुनेछ ।

केहीलाई गोलाप्रथाबाट १० कित्ता शेयर पर्ने

यसरी अत्यधिक संख्यामा आवेदन परेपछि केही आबेदकलाई गोलाप्रथाबाट १० कित्ता शेयर पर्ने भएको छ। दशौँ लाख आवेदक शेयर पर्नबाट बंचित हुने भएका हुन्।


कम्पनीको यो आइपीओलाई इक्रा नेपालले मध्यम स्तरको जोखिमको संकेत गर्ने ईक्रा एनपी आर डबल बी रेटिङ प्रदान गरेको छ । आइपीओ निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


विक्री प्रबन्धकसँगै सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर सफ्टवेयर र मेरोशेयर एप मार्फत आवेदन गर्न सक्नेछन् ।