मंगलवार, मंसिर १६, २०७७
/
घरमा राखिएको बिजुलीको मिटर बक्समा चट्याङ पर्ने खतरा:उपभोक्ता बिद्धुत् प्राधिकरण गुहार्दै
चैत २१, २०७६
  दोबाटो सम्वाददाता

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुरका प्राय: घरमा राखेको बिजुलीको मिटर बक्समा चट्याङ पर्ने खतरा रहेको छ ।

त्यसै पनि बिजुलीको मिटर बक्समा पटक-पटक आगो उठ्ने र जति पटक आकाश गड्याङगुडुङ गर्ने र बिजुली चम्किने गर्छ उति नै पटक घरमा चट्याङ पर्ने खतरा रहेको स्थानीयको गुनासो छ ।



षडानन्द नगरपालिका-११ मा बिजुलीको मिटर बक्समा चट्याङ परेर एक महिना अगाडि एक घरमा २ जनालाई सख्त घाइते बनाएको र यहिहप्ता पनि सोहि वडाको एक निजी घरमा राखिएको मिटर बक्समा चट्याङ परि २ जनालाई सख्त घाइते बनाएको स्थानियबासीले बताएका छन्।

त्यस्तै रामप्रसादराई गाउँपालिकाका प्राय: घरमा बिजुलीको मिटर बक्समा पटक-पटक आगो उठ्ने र जति पटक बिजुली चम्किने गर्छ उति नै पटक चट्याङ पर्ला भनेर डराउनु पर्ने खतरा रहेको स्थानीयले गुनासो गरेका छन्।

हावा-हुरी र चट्याङ पर्ने मौसम आउँदै गरेको हुनाले नेपाल बिद्धुत् प्राधिकरण भोजपुरले यसको समाधान खोज्नुपर्ने उनीहरुको माग छ। "ज्यानै जाने खतरा भो",एक स्थानीयले भने,"जति पटक पानी पर्छ त्यतिनै पटक जनता घर छोड्न बाध्य भएका छन्।"

यस बिषयमा नेपाल बिद्धुत् प्राधिकरण भोजपुरका प्रमुख रबिनबाबु घिमिरेलाई सोध्दा मिटर बक्स लगायत तारमा आगो लाग्ने कारण चाहिँ कमसल वाईरिङ वा पुरानो वाईरिङको कारणले हुन सक्ने जानकारी दिए। "चट्याङले हान्ने कारण चाहिँ शुरुमै बिद्धुत लाईन जोड्दा अर्थिङको काम नगरिएकोले हो", उनले भने,"पहिले जे जस्तो भएको भएपनि अव स्थानिय निकायसँग मिलेर ईलेक्ट्रिकल सेफ्टीको काम क्रमश: गर्ने कुरामा म आफै लाग्नेछु।"

भोजपुरका अधिकांश भागमा बिद्धुतीकरण भएको छैन। केहि भागमा गरिएको बिद्धुतीकरण प्रबिधिक रुपमा अपुरो रहेको गुनासो ब्यापक छ। जिल्लाको नेपालेडाँडा तथा कुदाककाउलेमा त १० औं बर्षदेखि बिजुली आउला- आउला भन्दा भन्दै स्थानीयबासी थाकिसकेका छन्। ती स्थानमा खाली पोल मात्रै गाडिएको बर्षौ भैसकेको छ।