मंगलवार, मंसिर १६, २०७७
/
लकडाउन हुँदा नेपालमा हावाको स्तर सुध्रियो,सिमरा बाहेक सबै मापन केन्द्रमा'ग्रीन सिग्नल'
चैत १५, २०७६
  दोबाटो न्यूज
काठमाडौं। लकडाउनका कारण सवारीसाधन र उद्योगधन्दाहरु बन्द हुँदा वातावारणमा भने सकारात्मक प्रभाव परेको छ। हावामा प्रदूषण धेरै हुँदा बसोबासका लागि नै अयोग्य रहेका शहरहरुमा अहिले हरियो चिन्ह देखिएको छ। 



वातावारण विभाग र अरु विभिन्न सङ्घसंस्थाले देशका विभिन्न २२ ठाउँमा राखेका हावाको प्रदूषण मापन केन्द्रहरुमध्ये बाराको सिमरा बाहेक सबै केन्द्रहरुले हरियो चिन्ह देखाएका छन् । एक हप्ताअघि सम्म धेरैजसो मापन केन्द्रहरुले रातो चिन्ह देखाउने गरेका थिए । धेरैजसो रातो चिन्ह देखिने काठमाडौं उपत्यकाका सबै केन्द्रहरुमा अहिले हरियो चिन्ह देखिएको छ। 

हावाको प्रदूषण मापन सुचकाङ्क अक्वा ५० सम्ममा मानिसको बसोबासका लागि राम्रो मानिने वातावारण विभागका उपमहानिर्देशक ईन्दु विक्रम जोशीले बताए। 


विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अक्वाको अन्तर्राष्ट्रिय मापदण्ड २५ तोकेको छ भने नेपालले ४० मा सीमित राख्ने लक्ष्य लिएको छ । अक्वा १५० भन्दा माथि गएपछि बसोवासका लागि अयोग्य मानेर मापन केन्द्रहरुमा रातो चिन्ह देखाइन्छ । 


धेरैजसो रातो चिन्ह देखिने काठमाडौंको रत्नपार्कमा रहेको मापन केन्द्रमा गएको चार दिनदेखि हरियो चिह्न देखिएको छ ।

शनिबार दिउँसो धुलिखेलमा अक्वा ९ मा झरेको छ। जसलाई धेरै राम्रो मानिन्छ ।