चौकीडाँडा, भोजपुर। नेपाल सरकारले एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गर्ने योजना अनुरुप आज जिल्लाको साल्पासिलिछो गाउँपालिकामा आधारभूत अस्पताल भवनको शिलान्यास गरिएको छ।
गाउँपालिका अध्यक्ष महेश राई तथा उपाध्यक्ष धनमाया राईले संयुक्त रुपमा ५ शैयाको साल्पासिलिछो आधारभूत अस्पताल भवनको शिलान्यास गरेका हुन्।
गाउँपालिकाको वार्ड नं ३ चौकीडाँडास्थित धोबिखोलामा निर्माण हुने भवन नेपाल सरकारको योजना अनुसार २ बर्षमा निर्माण सम्पन्न गर्ने गाउँपालिकाको लक्ष रहेको अध्यक्ष महेश राईले बताए।
"पहिलेकै स्वास्थ्य मन्त्रालयको योजना अनुसार हाम्रो गाउँपालिकामा १५ शैयाको अस्पताल बन्नेवाला थियो तर पछि नयाँ तवरबाट यो योजना राष्ट्रिय योजना आयोग मार्फत स्वास्थ्य मन्त्रालय हुँदै आएकोले ५ शैयामा बनाउने निर्देशन हामीले पायौँ," अध्यक्ष राईले भने, "अझ सरकारले केही प्रतिशत रकम गाउँपालिकाले ब्यहोर्नुपर्ने निर्देशन गरेको छ।" सरकारको निर्देशन अत्यन्त्यै छोटो समयमा आएको बताउँदै उनले बजेट लागत र गाउँपालिकाले ब्यहोर्ने रकम केन्द्रसँगको समन्वयमा छिट्टै टुंग्याईने बताए ।
“वरिपरि राम्रा स्वास्थ्य सुबिधा नभएको दुर्गम गाउँपालिकामा सहज यातायातले जोडिएको गाउँपालिकामा भन्दा बढी बेड र सुबिधायुक्त अस्पताल निर्माणमा सरकार लाग्दा बढी राम्रो हुन्थ्यो," उनको भनाई छ ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रस्तावमा ५ शैय्याका आधारभूत अस्पतालमा १ चिकित्सक, ४ नर्ससहित १२ स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ। यसै अनुसार यो अस्पतालमा कम्तीमा १ जना चिकित्सक र अन्य स्वास्थ्यकर्मी खटाईनेछन्।
चौकीडाँडा समाजको पहलमा तत्कालिन समयमा अस्पताल बनाउन भनेर स्थानिय इन्द्रबहादुर घले, तिलक घले, जीतेन्द्र राई र ज्ञानबहादुर बोगटीले गाउँपालिकालाई जम्मा १५ रोपनी ७ आना जग्गा नि:शुल्क उपलब्ध गराएका थिए। सोही स्थानमा अस्पताल बन्न लागेको हो।
Dobato News All rights reserved.