बिहिवार, माघ १९, २०७९
/
युवालाई मदिरा सेवनका लागि प्रोत्साहन गर्दै जापान:कुरो छ यस्तो
भाद्र ३, २०७९
  दोबाटो न्यूज डेस्क
काठमाडौं। जापानका युवामा मदिरा पिउने बानी बूढापाकाको तुलनामा निकै कम छ। तर, त्यहाँको सरकार यो अवस्था परिवर्तन होस् र युवाले मदिरा सेवन बढाउन् भन्ने चाहन्छ।

युवामा मदिरा सेवन गर्ने प्रवृत्ति घट्दै गएका कारण जापान सरकारलाई करमा घाटा भइरहेको छ।



जापानको परम्परागत मदिरा साके (चामलबाट बनेको मदिरा) को बिक्रीबाट लाग्ने कर पनि घटाईएको छ। साकेको उपभोगलाई युवामाझ अझ आकर्षक बनाउन र उद्योगीलाई फाइदा पुर्याउन ‘साके भिवा’ नाम दिइएको यो अभियान शुरु गरिएको बताईएको छ।

कर एजेन्सीले २० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिले भाग लिन सक्ने प्रतियोगिता सञ्चालन गरिरहेको छ। जापानी सेक, शोचु, ह्विस्की, बियर र वाइनलाई यो उमेर समूहमा लोकप्रिय बनाउन उसले व्यावसायिक आइडिया दिनुपर्छ।

प्रतियोगिता सञ्चालन गरिरहेको एजेन्सीले कोभिडको समयमा मानिसमा मदिरा सेवन गर्ने बानी घटेको बताएको छ। यसबाहेक जापानको घट्दो जनसंख्याका कारण रक्सीको बिक्री पनि घटेको छ।

मदिराको लोकप्रियता बढाउन जापान सरकार प्रचारात्मक अभियान, ब्रान्डिङ र आर्टिफिसियल इन्टेलिजेन्सका माध्यमबाट मानिसलाई नयाँ विचारहरु ल्याउन चाहन्छ।

जापानी मिडियाका अनुसार सरकारको यो अभियानप्रति जनताको प्रतिक्रिया मिश्रित रहेको छ। कतिपयले यसले स्वास्थ्यका लागि हानिकारक बानीलाई बढावा दिएको स्पष्ट रुपमा आलोचना गरिरहेका छन्।

( एजेन्सीको सहयोगमा )