बझाङ। कोरोना भाइरसका कारण देश लकडाउनमा रहेका बेला बझाङ जिल्लामा भने विसरती मेलाका लागि हजारौं मानिस जम्मा भएका छन् ।
सरकारले सोमबार मात्रै वैशाख ३ गतेसम्मका लागि थप लकडाउन घोषणा गरेको छ । तर, बझाङमा भने त्यसको कुनै असर परेको छैन ।
बझाङको छविस पाथिभेरा गाउँपालिका–३ मा मनाइने बान्नीकी चैतलीमा सोमबार हजारौं मानिसको भीड जम्मा भएको छ । कोरोना भाइरसको संक्रमणले सुदूरपश्चिम सबै प्रदेशभन्दा जोखिममा छ ।
सुदूरपश्चिमका ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतबाट स्वदेश फर्किएका दुई र दुबईबाट आएका एक जनाबाट आफ्नै परिवारका एक जनालाई संक्रमण सरेपछि सुदूरपश्चिमा कोरोनाका संक्रमित ४ जना फेला परेका हुन् ।
तर, बझाङको छबिसपाथिभेरा गाउँपालिकाका स्थानीयले भने लकडाउन उल्लंघन गर्दै हजारौंको भीड जम्मा गरी सोमबार बान्नीकी चैतली मेला मनाएका छन् ।
गाउँपालिका उपाध्यक्ष राधिका रताला जोशीले गाउँपालिकाले चैतली मेला मनाउन रोक लगाए पनि स्थानीयले अटेरी गरेको बताइन् । "गाउँपालिकाका विभिन्न नाकामा प्रहरी परिचालन गरिएको छ, तैपनि स्थानीयले चोरबाटो प्रयोग गरी मेला भरेका छन्, जुन दुःखद कुरा हो", उपाध्यक्ष जोशीले भनिन् ।
जात्रामा झडप
चैतली मेलामा तल्लो छबिस र मल्लो छबिसबीच विवाद भएपछि १२ जना घाइते भएका छन् । सोमबार साँझ ६ बजेतिर झडप भएको हो । जात्रामा भकुण्डो हान्ने बेला झडप भएको थियो । झडपमा ढुंगा हानाहान हुँदा दुवै पक्षका १२ जना घाइते भएको छविस पाथिभरा गाउँपालिकाका इन्जिनियर उत्तम सिंहले बताए ।
बान्नीकी चैतलीमा स्थानीबीच भकुण्डो खेल्ने र मस्टा देवताका लागि काकर चढाउने प्रचलन छ । तर, स्थानीयले भने स्थानीय सरकारले पूर्ण रूपमा मेला नलगाउन निर्देशन नदिएको बताएका छन् । ‘स्थानीय तहले घरबाट एक जना मात्रै आउन भने पनि मानिसहरू बढी आएकाले झडप भएको हो,’ एक स्थानीयले भने ।
देशमा लकडाउन भएका बेला जिल्ला सदरमुकामबाहेक गाउँमा मन्दिरमा नवरात्रिका बेला पनि ठूलो भीडभाड भएको थियो । कोरोना भाइरसको संक्रमणले सुदूरपश्चिम सबै प्रदेशभन्दा जोखिममा छ । अन्नपूर्ण दैनिकले लेखेको छ।
Dobato News All rights reserved.