मंगलवार, मंसिर १६, २०७७
/
कोरोना संक्रमितको मृत्यु बढेको बढ्यै:अमेरिकामा मात्रै हिजो १२५५ जनाको मृत्यु
चैत २५, २०७६
  एजेन्सी
काठमाडौं। संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गएको २४ घन्टामा ५,२२१ जनाको मृत्यु भएको छ।

यो सँगै यसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या साढे ७४ हजार नाघेको छ। मंगलबार बिहान साढे ६ बजेसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणबाट अहिलेसम्म ७४ हजार ६ सय ९२ जनाको मृत्यु भइसकेको छ।



त्यस्तै अमेरिकामामात्रै बितेको २४ घन्टाभित्र १२ सय ५५ जनाको मृत्यु भएको छ । यो एकैदिन अमेरिकामा कोरोना संक्रमणको कारणले मानिसको मृत्यु भएको अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो।  मृत्यु हुने आधाभन्दा बढी न्यूयोर्क शहरका रहेका छन्।
 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको दुई हप्ता अवस्था डरलाग्दो हुने बताएका थिए । ह्वाइट हाउसले दुई लाख भन्दा बढी मानिसको मृत्यु हुने अनुमान सार्वजनिक गरिसकेको छ ।

विश्वभर १३ लाख भन्दा बढी संक्रमित हुँदा अमेरिकामा साँढे ३ लाख संख्या कटिसकेको छ । यो संख्या दिनानुदिन बढ्दै छ ।

विश्वभर संक्रमितको संख्या १३ लाख ४६ हजार ४ सय २८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। सोमबार कोरोनाका ७२ हजार ८ सय ५० जना नयाँ संक्रमित थपिएका छन्।


बढी कोरोना संक्रमित अन्य देशको स्थिती

अमेरिकापछि फ्रान्समा हिजो एकै दिन ८ सय ३३ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या ८ हजार ९ सय ११ पुगेको छ भने संक्रमितको संख्या एक लाख नजिक पुग्न लागेको छ।
 

स्पेनमा हिजो एकै दिन ७ सयले ज्यान गुमाएका छन्। त्यहाँ मृतकको संख्या १२ हजार नाघेको छ भने संक्रमितको संख्या १ लाख ३७ हजार पुग्न लागेको छ।


सोमबार इटालीमा कोरोना संक्रमणबाट ६ सय ३६ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म यसको संक्रमणबाट साढे १६ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन्। संक्रमितको संख्या १ लाख ३२ हजार नाघेको छ।


ब्रिटेनमा सोमबार ४३९ जनाले ज्यान गुमाएका छन्। त्यहाँ मृतकको संख्या ५३ सय ७३ र संक्रमितको संख्या ५१ हजार ६०८ पुगेको छ।


जर्मनीमा सोमबार कोरोना संक्रमणबाट २२८ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या १८ सय १० र संक्रमितको संख्या १ लाख ३ हजार नाघेको छ।


त्यसैगरी सोमबार इरानमा १३६, बेल्जियममा १८५, नेदरल्यान्डमा १०१, ब्राजिलमा ७८, स्वीडेनमा ७६, रोमानियामा २५, स्वीटजरल्यान्डमा ५०, टर्कीमा ७५, क्यानाडामा ४३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।


छिमेकी देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३६ पुगेको छ। हिजो एकै दिन त्यहाँ १८ जनाको मृत्यु भएको छ। आइतबार पनि भारतमा यसको संक्रमणबाट १८ जनाकै मृत्यु भएको थियो। त्याँ संक्रमितको संख्या ४७ सय ७८ पुगेको छ।


अर्को छिमेकी देश चीनमा सोमबार कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।