मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार सातवटै प्रदेशमा ५० श्ययाको सरुवा रोग अस्पतालको भवनको शिलान्यास हुने बताए । सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पुर्याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो । अहिले सङ्घमा एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ ।
स्थानीय तहमा बन्ने अस्पताल भवनको सङ्घीय सांसद र स्थानीय तहका प्रमुखले पनि शिलान्यास गर्नेछन् । यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिईसकेको छ। ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्न थालिएको हो ।
प्रदेश नं १ मा ३२ स्थानीय तहमा, प्रदेश नं २ मा २० स्थानीय तह, वाग्मती प्रदेशमा १९ स्थानीय तह, गण्डकी प्रदेशमा ५३ स्थानीय तह, लुम्बिनी प्रदेशमा ६० स्थानीय तह, कर्णाली प्रदेशमा २८ स्थानीय तह र सुदूरपश्चिम प्रदेशमा ३४ स्थानीय तहमा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ । अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ श्ययाको अस्पताल बनाउनका लागि रु ६४ अर्ब नौ करोड बजेट पठाइसकिएको हो ।
पाँच शैय्याको अस्पतालका लागि रु ७० लाख, १० शैय्याका लागि रु ८५ लाख र १५ शैय्याका लागि रु एक करोड पठाइसकिएको बताईएको छ ।
स्थानिय निकायमा अस्पताल निर्माणको खाकाको शुरुवात गर्ने पूर्व स्वास्थ्यमन्त्री गगन थापा हुन् ।
Dobato News All rights reserved.