शनिबार, माघ १०, २०७७
/
नेपाल र भारतका सरकारले भावी पुस्ताप्रति जवाफदेही भएर काम गर्नुपर्छ:भारतीय बिदेश सचिव श्रृंगला
मंसिर १२, २०७७
  दोबाटो न्यूज डेस्क
काठमाडौं। भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगलाले दक्षिण एसियामा कुनै पनि मुलुक एक्लै अघि बढ्न नसक्ने बताएका छन्।



विदेशसचिव श्रृंगलाले नेपालको औपचारिक भ्रमणको दोस्रो दिन ‘द एसियन इन्सिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्स’ले गरेको कार्यक्रममा बोल्दै नेपाल र भारत मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन् ।

नेपालको जलविद्युत देशको आर्थिक विकासको गेमचेञ्जर हुने बताउँदै उनले नेपालमा उत्पादित बिद्युत भारतीय बजारका लागि खुला रहेको पनि उल्लेख गरेका छन्। 

दुवै देशको सरकारले भावी पुस्ताप्रति जवाफदेही भएर सशक्त सहकार्य गर्नुपर्ने बताउँदै उनले सरकारको नेतृत्वमा आएदेखि नै भारतीय प्रधानमन्त्री मोदीले छिमेक सम्बन्धलाई पहिलो प्राथमिकता दिएको उल्लेख गरे। 

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १७ वर्षपछिको नेपालमा उच्चस्तरीय भ्रमण गरेपछि हालसम्म ४ पटक नेपाल भ्रमण गरेको बताउँदै दुई देशबीचमा बलियो सम्बन्ध कायम रहनुपर्नेमा जोड दिए ।  उनले भारतको विकास र आधुनिकीकरण पूरा नभएको बताउँदै छिमेकी देश नेपालको पनि पूरा नभएको बताए । दुई देशको विकास र राष्ट्रिय सपना पूरा गर्न एक अर्काको सहयोग आवश्यक पर्ने बताए ।
 

नेपालको पनि "समृद्ध नेपाल, सुखी नेपाली"को लक्ष्य रहेको जनाउँदै उनले दुवै मुलुकका राष्ट्रिय सपना पूरा गर्न नेपाल र भारतलाई एकअर्काको आवश्यकता पर्नेमा जोड दिएका थिए ।


कार्यक्रममा विदेशसचिव श्रृंगलाले नेपाल र भारतबीच सीमालगायतका समस्याबारे भने कुनै पनि धारणा सार्वजनिक गरेनन् ।


विदेशसचिव श्रृंगला औपचारिक भ्रमण सकेर आज शुक्रबार दिल्ली फर्किँदै छन् ।